काठमाडौँ – झण्डै एक वर्षपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठकले के निर्णय गर्छ भन्दा पनि पार्टीले उक्त बैठक प्रत्यक्ष प्रसारण(लाइभ) गरेको बिषयको बढ्दा चासो भएको छ। मंगलबार सुरु भएको कांग्रेस केन्द्रीय समितिको कांग्रेसभित्रै चर्चा त हुने नै भयो, अन्य राजनीतिक दलले पनि यसलाई नयाँ कोणबाट हेरेका छन्।
पार्टी बैठकका एजेन्डा र निर्णयहरु एकैपटक स्वदेश तथा विदेशमा रहेका नेता,कार्यकर्ता र सुभेच्छुकमाझ पुग्दा कांग्रेस उत्साहित छ भने नकारात्मक विषयहरु उठ्दा उल्टै पार्टीलाई नै घाटा लाग्ने हो कि भन्ने जोखिम पनि देखेको छ कांग्रेसले।
बैठकका सबै बिषय नबाहिरिने र तोडमोड भएर बाहिरिने गरेको पार्टी पक्तिमै पहिलेदेखि चर्चा हुने गर्थ्यो। कतिपय अवस्थामा सार्वजनिक गर्न नखोजेको बिषय बाहिरिएको भन्दै नेताहरुले असन्तुष्टि जनाउँथे। सूचना बाहिरिएकै बिषयले पनि नेताहरुमा मनमुटाव ल्याउन बल पुग्थ्यो।
शीर्ष र पुराना नेताहरुले पछिल्लो समय केन्द्रीय समिति र पार्टीको गोप्य बैठकमा बोलेको बिषय ‘मैले भित्र बैठकमा यो बोँले समाचार लेखिदेऊ भनेर सञ्चार माध्यममा आएर बोल्ने गरेको’ कारण सबै बिषयहरु सार्वजनिक हुने गरेकोमा पनि असन्तुष्टि व्यक्त गर्दै आएका थिए। तर पार्टी सभापतिले नै बैठक सबैको लागि खुला गरिदिए।
मंगलबार दिउँसो २ बजेतिर सभापति देउवाको अध्यक्षतामा आरम्भ भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराएका थिए। अर्का महामन्त्री गगनकुमार थापाले संगठन सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। उनले बार्षिक क्यालेन्डरसहित आक्रामक कार्ययोजना ल्याएका छन्, कांग्रेसले पालना गर्न सक्छ वा सक्दैन भन्ने मुख्य प्रश्न हो।
बैठकमा नेता गोपालमान श्रेष्ठले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए भने नेता आनन्दप्रसाद ढुङ्गानाले अनुशासन समितिले तयार गरेको कामका बारेमा जानकारी गराए।
प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाका विषयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले र सरकारमा पार्टीको भूमिकाका बारेमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउँदै आफ्ना धारणा राखेका थिए। त्यसपछि देउवाले नै बुधबार बिहान ११ बजे पुनः बस्ने गरी बैठक स्थगित गरे।
बैठक लाइभ गर्दै गर्दा यसको निरन्तरता र प्रभावकारिता बारे चासो देखिएको छ। लामो समय बैठक बस्न नसक्दा नेतृत्वको बिरोधका बिषयहरु छरपस्ट भएकोले पार्टी बैठकमा सभापति शेरबहादुर देउवाले चर्को आलोचनाको सामना गर्नुपर्ने स्पष्टै छ। केन्द्रीय सदस्यले धारणा राख्ने बेला लाइभ भइरहेको छ भन्दै अड्कलेर बोल्छन् वा आक्रोश ओकल्छन्, भोलिका दिनमा देखिनेछ। १ सय ६७ सदस्यीय केन्द्रीय सदस्यमा हाल १ सय ५८ छन्, ९ जना मनोनित गर्न बाँकी छ। सबै सदस्यले धारणा राख्दा बैठक कम्तीमा एक हप्ता चल्न सक्छ।
बैठक लाइभ गरेको सन्दर्भमा केन्द्रीय सदस्य सीता देवकोटा पाण्डे यसले लोकतन्त्र र पारदर्शlता झल्किएको बताउँछिन्। उनलाई बैठकमा बस्दै गर्दा भने प्रत्यक्ष प्रसारण (लाइभ) भइरहेको छ भन्ने महसुस समेत नभएको बताउँछिन्। ‘यसअघिका बैठकहरुमा जस्तै जसरी सहभागी भएको थिएँ उस्तै भयो। फरक र विशेष अनुभव भएन। बैठक निरन्तर चलिरह्यो,बैठकमा पदाधिकारी र जिम्मेवार व्यक्तिका प्रतिवेदन सुन्दा टिप्दा व्यस्त भइयो, लाइभ थियो वा थिएन त्यतिसारो वास्ता भएन, पार्टीमा अर्लट भने गरिएको थियो। उपसभापति पूर्णबहादुर खड्का, प्रमुख सचेतक रमेश लेखक, नेता गोपालमान श्रेष्ठ,महामन्त्री गगन थापा,अनुशासन समितिका आनन्द ढुंगानाले पेश गरेको प्रतिवेदनतर्फ म केन्द्रित भएँ तसर्थ लाइभ थियो थिएन वा बैठकमा कसरी बसुम्, कसो गरुम् भन्ने त्यति धेरै ख्यालै गरिन।’
देश सञ्चारसँगको कुराकानीमा उनले थपिन्, ‘लाइभमा देखेर स्वदेश तथा विदेशबाट प्रतिक्रिया हरु आए, तपाईको बसाइ असहज भयो, तपाईले सहज तरिकाले बसिदिए हुन्थ्यो भन्ने प्रतिक्रिया दिएका थिए, बैठकमा मैले राखेका तर्कको लाइभ भने हेर्न बाँकी छ त्यसको प्रतिक्रियाहरु आउलान्, त्यसलाई भने म गम्भीर रुपमा लिएर मनन गर्नेछु।’
उनका अनुसार पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बैठक प्रत्यक्ष प्रसारण हुन्छ भनेर सबैलाई जानकारी गराएका थिए।
उनी भन्छिन्, ‘कति लामो समयसम्म जान्छ र सधैँ यसरी लाइभ गर्न मिल्छ कि मिल्दैन भन्ने हो। कोशिश गर्ने र गल्ती भयो भने पनि सुधारेर जाने भन्ने आफ्नै बैठक त हो नि। नेपाली कांग्रेस लोकतन्त्र र स्वतन्त्रतामा विश्वास गर्छ र अत्यन्तै उदारवादी छ। कांग्रेसलाई कसैले थाहा पाउला कि कसैले सुन्ला कि अथवा पार्टीभित्रै गोप्य राखौँ भन्ने कहिल्यै हुँदै भएन। जसलाई जे मन लाग्यो छरपस्ट सबैले बोल्दै हिँड्नुभएको छ भने पार्टीको बैठकलाई के कन्ट्रोल गर्नु? त्यसले खासै ठूलो असर गर्छ जस्तो लागेन।’
उनले थपिन्, ‘अन्य पार्टी वा मुलुकको लागि रणनीतिक योजना बनाउँदै गर्दा बाहिर नजाओस् भनेर सोच्नु स्वभाविक हो तर हाम्रो पार्टी भित्रको अनुशासन लिक भएर जसले जतिबेला जहाँ जे बोलेपनि हुने गर्नुभन्दा सबैले थाहा पाउने गरी कसले के बोल्यो वा बैठकमा के भयो भन्ने कुरा कमसेकम नेता, कार्यकता र पव्लिकले थाहा पाउँछन्।’
कांग्रेसले बैठक लाइभ गर्नुभन्दा पहिला एकद्धार प्रणालीबाट सूचना बाहिर ल्याउने बारे पनि योजना बनाएको थियो। एक द्धार प्रणालीबाट मात्रै ल्याउने वा जसले मन लाग्यो उसैले बैठकको ब्रिफिङ गर्दै हिड्ने भन्नेमा नेताहरुको एक मत आउन सकेन।
लामो समय बैठक नबसेको कारण धेरै थरी कुराहरु बाहिरिने निश्चित नै भएका कारण देउवा आफैँले बैठक लाइभ गर्ने प्रस्ताव गरेका हुन्।
प्रचार विभाग प्रमुख विश्वकर्माले केन्द्रीय समिति बैठक सबै नै लाइभ देखाउने तयारी भएको बताए। देश सञ्चारसँगको कुराकानीमा उनले भने, ‘बैठक प्रत्यक्ष प्रशारण गर्दा असहज हुन्छ कि अथवा गोप्य कुरा अथवा सार्वजनिक गर्नुनपर्ने कुराहरु पनि सार्वजनिक हुन्छन् कि त्यस्ता विषयले अप्ठेरो बनाउँछ कि भन्ने लागेको थियो। सभापतिले पदाधिकारीको बैठकमा साथीहरुले जेजे कुरा भन्ने हो बैठकमै भन्नुहोस् र त्यो बैठकलाई पारदर्शी बनाउन र हामी सबैको कुरामा एकरुपता ल्याउन प्रत्यक्ष प्रसारण गर्यो भने पारदर्शी हुन्छ। बैठकभित्र बोलेका कुरा र बाहिर बोलेका कुरामा फरक पनि हुँदैन। संचारकर्मीहरुलाई पनि सजिलो हुन्छ। त्यसो भएर लाइभ गरौँ भनेर देउवाले प्रस्ताव गरेपछि पदाधीकारी बैठकले निर्णय गरेको हो।’
लाइभ गर्ने कुरामा अधिकांश पदाधिकारीले ठिक हो भनेपछि प्रचार विभागको तर्फबाट व्यवस्थापन गर्ने जिम्मेवारी पाएको विश्वकर्मा बताउँछन्। ‘हामीले अन्तिम समयमा समेत सभापतिज्यूलाई लाइभ गर्ने हो नि? भनेर सोधका थियौँ, सभापतिले हो भन्नुभयो हामीले त्यसलाई व्यवस्थित गर्यौँ।’
सञ्चारमाध्यमलाई पार्टीको आधिकारिक फेसबुक पेजबाट लिनको लागि कांग्रेसले अनुरोध गरेको छ। विश्वकर्माले थपे,‘आजको बैठक समापन हुँदै गर्दा हामीले ठीक गर्यौँ भन्ने लागेको छ। किनकि नेपाली कांग्रेस पार्टीभित्र गोप्य भन्ने केही पनि रहँदैन। सबै केन्द्रीय सदस्य साथीहरुले पनि बैठकमा भएको कुराहरु खुल्ला रुपमा बाहिर राख्दै आउनुभएको छ। यो अभ्यास गरौँ कस्तो हुन्छ भनेर गरिएको हो। अधिकांश केन्द्रीय सदस्य र शुभेच्छुकहरुले ठीक गर्नुभयो नै भन्नुभएको छ।’
लाइभ गर्ने बाध्यात्मक परिस्थित नभएको उनको भनाइ छ।
‘धेरै जना केन्द्रीय सदस्य छन् लामो समय ग्याप भएको कारणले कांग्रेस के गर्दैछ भन्ने बारे स्वदेशमा विदेशमा रहेका शुभचिन्तकहरुमा बढी चासोको बिषय थियो। हामीले लाइभ गर्दिएपछि धेरै भियुअर्स बढेका छन्। सकारात्मक प्रतिक्रिया पनि आएको छ। लाइभ भएको भएर लुकाउन सकिने र पर्ने केही हुँदैन। आपत्तिजनक अभिव्यक्ति आएको खण्डमा अभिलेखबाट हटाउनेबारे सोच्ने तर अहिले लाइभ हेर्न दिने पार्टीले निर्णय गरेको छ,’ उनले भने।
बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएका छन्। बैठकमा विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचीमाथि छलफल भइरहेको छ।