जलवायु मामिलासम्बन्धी जिम्मेवारी तोकिएका अमेरिकी दूत जोन केरीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार बेइजिङमा चार घण्टा लामो वार्ता गरी पृथ्वीको तापक्रम वृद्धि घटाउने विषयमा रोकिएको कूटनीतिक वार्तालाई पुनर्जीवित गरेका छन् ।
गत वर्ष अमेरिकी संसद्की तत्कालीन सभामुख न्यान्सी पेलोसीले स्वशासित ताइवानको भ्रमण गरेर बेइजिङलाई आक्रोशित बनाएपछि दुई ठूला हरितगृह ग्यास उत्सर्जक देशहरूबीचको जलवायु वार्ता रोकिएको थियो । वासिङ्टन र बेइजिङबीच ताइवान र अन्य थुप्रै विषयमा विवाद भए पनि पूर्वविदेशमन्त्री केरीले चीनसँग तुलनात्मक रूपमा सुमधुर र निरन्तर सम्बन्ध राख्दै आएका छन् ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार केरीले आफ्ना चिनियाँ समकक्षी सी झेन्हुआसँग जलवायु परिवर्तनले पृथ्वीमा ल्याएको वातावरणीय संकट र यसको नियन्त्रणका लागि विश्वका प्रमुख अर्थतन्त्र र प्रदूषणका लागि बढी जिम्मेवार मानिएका मुलुकहरूको भूमिकाप्रति सोमबार बेइजिङमा चार घण्टा लामो वार्ता गरेका थिए ।
‘जलवायु परिवर्तनसम्बन्धी मामिलाका लागि चीनका विशेष दूत सी झेनहुआले अमेरिकी समकक्षी केरीसँग करिब चार घण्टा छलफल गर्नुभएको छ,’ सरकारी प्रसारक सीसीटीभीले छलफल भएका बुँदा र सहमतिबारे थप विवरण सार्वजनिक नगरी वार्ताको पुष्टि गरेको छ ।
केरीले बताएअनुसार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले उत्सर्जन घटाउने जिम्मेवारी सबैको रहेकोले विश्व जगत्ले पनि बेइजिङलाई उत्सर्जन घटाउन अझ दबाब दिनुपर्ने र त्यसका लागि प्रोत्साहित पनि गर्नुपर्ने बताएका थिए ।
चीनले लामो समयदेखि विकासशील राष्ट्रका रूपमा आफ्नो आधिकारिक हैसियतलाई उच्च उत्सर्जनको औचित्य पुष्टि गर्न प्रयोग गर्दै आएको छ । ‘तर यस सम्बन्धमा उनीहरूका लागि अझै धेरै काम गर्न बाँकी छ,’ सुलिभानले भने, ‘विदेशमन्त्री केरीले बेइजिङमा रहँदा यो कुरा राख्नु हुनेछ ।’ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अर्थमन्त्री जेनेट येलेनले अमेरिका र चीनबीचको सम्बन्धलाई स्थिर बनाउने उद्देश्यले गरेका अन्य दुई उच्चस्तरीय भ्रमणपछि केरीको यो भ्रमण भएको हो ।
ग्रान्थम रिसर्च इन्स्टिच्युट अन क्लाइमेट चेन्ज एन्ड द इन्भाइरोमेन्टका वरिष्ठ सदस्य चुनपिङ सीले भनेका छन्, ‘केरीको भ्रमण र जलवायु अन्तर्क्रियाको पुनरुत्थानले जलवायु संकटलाई सम्बोधन गर्न समन्वयात्मक प्रयासको महत्त्वलाई जोड दिन्छ ।’
जलवायु परिवर्तनको कारक हरितगृह ग्यासको प्रमुख उत्सर्जक चीनले सन् २०३० सम्ममा कार्बन उत्सर्जनलाई उच्च बनाउने र २०६० सम्ममा पूर्ण कार्बन तटस्थता हासिल गर्ने प्रतिबद्धता जनाएको छ ।