एउटा युगको समाप्तिको संकेत हो यो । नयाँ युगको सुरुआतको संकेत । जे भने पनि हुन्छ । कुरा एउटै हो । विम्बल्डन २०२३ ले पुरुषतर्फ एउटा नयाँ विजेता दियो । यी हुन्, २० वर्षीय स्पेनी खेलाडी कार्लोस अल्कारज । उनी नम्बर–१ खेलाडी पनि हुन् । यति कम उमेरमा एटीपीको वरीयताको शीर्ष स्थानमा पुग्ने पनि उनी नै पहिलो हुन् । उनले विम्बल्डनकै क्रममा योभन्दा पनि ठूलो काम गरे । फाइनलमा उनले हराएका खेलाडी अरू कोही होइनन्, नोभाक जोकोभिच हुन् ।
जोकोभिच भनेपछि उनीसँग दुई अरू नाम पनि जोडिएर आउँछ, रोजर फेडेरर र राफेल नाडाल । विश्व टेनिसले पाएका सबैभन्दा ठूला नाममा उनीहरू नै पर्छन् । सर्वकालीन महान् खेलाडीभन्दा हुन्छ । उनीहरूको सबैभन्दा ठूलो विशेषता हो, फेडेरर, नाडाल र जोकोभिचले एकै समय खेले । तीनै जना समकालीन जस्तै हुन् । यी तीनले साढे एक दशकभन्दा बढी समय विश्व टेनिस आफ्नो पकडमा राखे । ‘बिग थ्री’ कहलाइए । जसले यो युगलाई हेर्न पाए, तिनले आफूलाई धन्य माने हुन्छ ।
यसो भए, उनले आठपल्ट विम्बल्डन जितेको कीर्तिमान पनि बन्थ्यो र फेडेररसँग बराबरी पनि गर्थे । विश्व टेनिसमा तीन खेलाडीको वर्चस्वको सुरुआत गर्ने भने स्विस खेलाडी फेडेरर नै हुन् । उनले त संन्यास पनि लिइसके । उनले २० ग्रान्ड स्लामको उपाधि जिते । त्यसपछि आउँछन्, स्पेनी नाडाल । उनले २२ ग्रान्ड स्लाम जिते । उनी भने संन्यास लिने तर्खरमा छन् । चोटका कारण अहिले खेलिरहेका छैनन् । लगभग खेल्न नसक्ने स्थितिमा पुगिसके ।
अझ ठ्याक्कै भन्दा मूल प्रश्न हो, नयाँ पुस्ताका खेलाडीमध्ये त्यस्तो कोही छैन जसले जोकोभिचलाई रोक्न सक्छ ? अल्कारजले यही काम गरेका छन् । आइतबारको फाइनल वास्तवमै सनसनीपूर्ण रह्यो । टेनिसको एउटा राम्रो खेलमा जे जस्तो मसला चाहिन्छ, त्यो सबै यसमा थियो । खेल पाँच सेट चलेको थियो । त्यसमध्ये पहिलो सेट जोकोभिचले यति सजिलै जितेका थिए, अल्कारजसँग त्यसको कुनै जवाफ थिएन । पहिलो सेटमा जोकोभिचको प्रदर्शन देखेर उनी चकित देखिए ।
फेरि लागिरहेको थियो, यो खेल पनि जोकोभिचले नै जित्नेछन् र उनले जितेको ग्रान्ड स्लामको उपाधि कीर्तिमान २४ पुग्नेछ । तर यही मोडबाट अल्कारजले नयाँ पटकथा लेखे । खेल अन्ततः उनको पक्षमा रह्यो, १–६, ७–६ (८/६), ६–१, ३–६ र ६–४ ले । जति बेला सेन्टर कोर्टमा अल्कारजले ‘म्याच प्वाइन्ट’ जिते, सबैले महसुस गरे, साँच्चै योसँगै एउट नयाँ युगको सुरुआत भएको छ । अल्कारजको प्रदर्शन यसकै संकेत हो । अथवा भनौं, एउटा युगको अन्त्य हुने क्रममा छ ।
अब हामीले दोहोर्याएर पनि फेडेरर, नाडाल र जोकोभिचको युग देख्न पाउने छैनौं । टड उडब्रिज टेनिस पण्डितका रूपमा आफ्ना धारणाहरू राख्छन् । उनी पनि मान्छन्, विम्बल्डनको यो फाइनलले संकेत दिएको छ, अब विश्व टेनिसमा नयाँ पुस्ता आउँदै छ । अझ भनौं आइसक्यो नै । अल्कारज आफैं पनि भन्थे, ‘जोकोभिचलाई फाइनलमा आएर पराजित गर्नु आफैंमा निकै ठूलो हो । उनी यस्ता खेलाडी हुन्, जसले विम्बल्डनमा विरलै मात्र हारको सामना गरेका छन् ।’
अनि उनी थप्छन्, ‘यो म जस्तै नयाँ पुस्ताका लागि शुभ समाचार पनि हो, अब अरूले यस्तै गर्न सक्ने आँट निकाल्न सक्छ ।’ यो सबै घटनाक्रमलाई एउटा नयाँ दृष्टिकोणबाट पनि हेर्न सकिन्छ । कोही खेलाडीले खेल्न सुरु गर्छ भने उसले कुनै दिन संन्यास पनि त लिनुपर्छ । यस्तोमा प्रश्न हो, फेडेरर, नाडाल र जोकोभिचपछि पुरुष खेलाडीका रूपमा विश्व टेनिस हाँक्ने को त ? जोकोभिच यही विम्बल्डनको फाइनलमा आएर हारेका हुन् । नत्र उनले यसै वर्षको अस्ट्रेलियन ओपन पनि जितेका थिए । अनि फ्रेन्च ओपन पनि । अल्कारजले मेलबर्नमा चोटका कारण खेल्नै पाएनन् । पेरिसमा उनले जोकोभिचलाई रोक्नै सकेनन् ।
विम्बल्डनपछि भने यो कथा फेरिएको छ । अब त केहीले भन्न थालेका छन्, अल्कारजको खेल्ने शैली त्यस्तो छ, जसमा अलिकति फेडेरर छ । अलिकति नाडाल छ । त्यत्तिकै अलिकति जोकोभिच पनि छ । गत वर्ष यूएस ओपन जित्ने क्रममा उनी पहिलोपल्ट नम्बर–१ खेलाडी बनेका थिए ।
दोस्रो ग्रान्ड स्लाम जित्ने क्रममा उनी नम्बर–१ नै रहनेछन् । अब नयाँ प्रश्न । यी अल्कारजलाई अबको समय नयाँ पुस्ताका कुन खेलाडीले बलियो चुनौती दिन सक्नेछन् त ? यसको उत्तर धेरैसँग छैन । अब ‘बिग थ्री’ को बिँडो थाम्ने भनेकै अल्कारजले हो । त्यसैले त फाइनलमा हारपछि जोकोभिचले पनि माने, ‘यो हार पचाउन सजिलो छैन ।’ खेलपछि उनी भावुक पनि देखिए । आफूलाई रोक्न सकेनन् । जोकोभिच जत्तिको खेलाडीको आँखामा पनि आँसु देखियो ।
उनले भने, ‘जितको नजिक पुगेर पनि जब हारिन्छ, यस्तो हारले मन दुख्ने गर्छ । तर मैले त्यस्तो खेलाडीसँग हारें, जसले म भन्दा पनि राम्रो खेल्यो । त्यसैले मैले उनलाई धन्यवाद दिनैपर्छ ।’ जति बेला उनी यस्तो भनिरहेका थिए, दर्शकदीर्घातिर रहेका उनका छोरा भने मुस्कुराइरहेका थिए । जोकोभिचले पनि यो दृश्य देखे, अनि भनिहाले, ‘कम्तीमा आफ्ना छोरालाई मुस्कुराइरहेको देख्नु पनि राम्रै हो । मलाई समर्थन गरेकामा उनलाई पनि धन्यवाद ।’ जोकोभिचलाई मनको कुनै कुनामा लागेको हुनुपर्छ, अब समय फेरिएको छ ।