काठमाडौँ / दक्षिण कोरियामा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ । उत्तरी प्रान्त चुंगचेनको च्योंग्जुमा सोमबार एकै दिन १३ जनाको मृत्यु भएपछि बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ४० पुगेको हो ।
राष्ट्रपति युन सुक योलले बाढी प्रभावितहरूको उद्धारका लागि मातहतका निकायलाई निर्देशन दिएका छन् । युक्रेनको यात्राबाट सियोल फर्किएपछि राष्ट्रपति युनले प्राकृतिक प्रकोपको क्षति न्युनिकरण गर्न मातहतका निकायहरूको बैठक बोलाएर अधिकारीहरूलाई पीडितको उद्धार गर्न सक्दो प्रयास गर्न निर्देशन दिए ।
राष्ट्रपति युनले भारी वर्षा र बाढीमा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदा प्रकट गरेका छन् । ‘हामीले यो परिस्थितिलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ । साथै सबै उपलब्ध स्रोतहरू परिचालन गर्न आवश्यक छ,’ राष्ट्रपति युनले भनेका छन् ।
राष्ट्रपति युनले प्रभावित क्षेत्रमा उद्धारकार्य तीव्र बनाएका छन् । जुलाइ ९ देखि कोरियाका विभिन्न स्थानमा परेको भारी वर्षा र बाढीपहिरोले जनजीवत कष्टकर बनाएको छ ।
यसले देशको मध्य र दक्षिणी क्षेत्र बढी प्रभावित बनेको बताइएको छ । च्योंग्जुमा मात्रै उद्धारकर्मीहरूले एकै रातमा एउटा टनेलबाट १६ वटा सवारीसाधन र चारवटा शव निकालेका थिए । उक्त टनेलबाट शनिबार ९ वटा शव निकालिएको थियो ।