काठमाडौं । मानवअधिकार तथा विकास मञ्च (फोरम एशिया) ले मानवअधिकार रक्षकहरूको सुरक्षा चुनौती बढेको भन्दै एकजुट हुन आह्वान गरेको छ।
फोरम एशियाको काठमाडौंमा बसेको बोर्ड बैठकले एशिया महादेशका सबै देशमा मानवअधिकार रक्षकहरूको अवस्था एउटै रहेको र उनीहरूमाथि नयाँनयाँ प्रकृतिका चुनौती थपिँदै गएको निष्कर्ष निकाल्दै अन्तरदेशीय सञ्जाल बनाएर मुद्दाको पैरवी गर्नुपर्नेमा जोड दिएको छ।
देशभित्रै विकसित राजनीतिक घटनाक्रम, सीमा क्षेत्रमा दैनिक हुने मानवअधिकार उल्लंघनका घटना, अन्तरदेशीय सम्बन्ध लगायतको प्रत्यक्ष असर मानवअधिकार रक्षकमा पर्ने बैठकको दाबी छ।
फोरम एशियाले व्यापार व्यवसायका कारण पनि मानवअधिकार उल्लंघन हुने क्रम बढ्दै गएकाले त्यसतर्फ पनि सचेत हुन सबैलाई आह्वान गरेको छ। विश्वव्यापी उदारीकणसँगै विकसित घटनाक्रमले मानवअधिकार रक्षकहरूकै सुरक्षामा चुनौती थपिएको भन्दै बैठकले मानअधिकारको रक्षा र मानवअधिकार रक्षकहरूको सम्मानका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएको हो।
फोरम एशियाका अध्यक्ष जेराल्ड जोसेपले दक्षिण एशियाली मुलुकमा मानवअधिकार रक्षकमाथि बढ्दै गएको चुनौती सामना गर्न अन्तरदेशीय सञ्जाल बनाउनुपर्ने आवश्यकता औंल्याए।
उनले मानवअधिकार रक्षकहरू सरकारका विरोधी नभएको र उनीहरू मानवअधिकारको रक्षा, लोकतन्त्र र विकासको मुद्दाका सहयोगी हुन् भन्ने बुझाउन नसकेको स्विकारे।
भारतका मानवअधिकार रक्षक कृति रोयले अहिले पनि अन्तरदेशीय सीमामा हिंसात्मक गतिविधि भइरहेको ती घटनाका पीडितले न्याय पाउन नसकेको र ती क्षेत्रमा अधिकारका लागि लड्ने रक्षकको सुरक्षा चुनौती बढेकाले सबै देशका मानवअधिकार रक्षकहरू अधिकारको लडाइँमा एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
उनले भने‚ ‘मानवअधिकार रक्षक र पीडितको रक्षाको लागि कानुन फितला छन्। केही मूल कानून छन् तर ती सबै पर्याप्त छैनन्। नेपालमा मानवअधिकार रक्षाका लागि धेरै कानून छन्। तर सबै कार्यान्वयन भएको अवस्था छैन। भारतमा पनि धेरै कानुन छन् तर कुनै पनि कार्यान्वयनमा आएका छैनन्। अब मानवअधिकारवादी संस्थाहरूले सबै क्षेत्रमा हुने मानवअधिकार हननका घटनामा चासो बढाउनुपर्छ। यसको लागि सबै मिलेर काम गर्न आवश्यक छ।’
फोरम एशियाकी बोर्ड सदस्य एवं मानवअधिकार रक्षक डाक्टर रेणु अधिकारीले समुदायस्तरमा काम गरिरहेका रक्षकहरूको अवस्थामा अहिले पनि सुधार आउन नसकेको र थप सुरक्षा चुनौती बढेको बताइन्। उनले विश्वव्यापी रूपमा देखिएको आर्थिक संकटले थपेको चुनौतीसँगै व्यापार व्यवसायका कारण मानवअधिकारमा थप्न सक्ने जोखिमतर्फ सजग हुँदै मानवअधिकार रक्षकको सुरक्षा र सम्मानका लागि अझै संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याइन्।
मानवअधिकार रक्षकहरू सम्मिलित ८५ वटा संस्थाको साझा सञ्जाल फोरम एशिया २४ वटा देशमा कार्यरत छ। फोरम एशियाको बोर्डमा नेपालसहित ९ वटा देशको प्रतिनिधित्व छ।