काठमाडौं-एसिसी इमर्जिङ टिम्स कपको आफ्नो दोस्रो खेलमा नेपाल भारत ‘ए’ सँग फराकिलो अन्तरले पराजित भएको छ। लगातार दोस्रो खेलमा भारतसँग ९ विकेटले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरियो।
समूहकै अर्को खेलमा पाकिस्तानले युएईमाथि १८४ रनको प्रभावसालि जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो। यो सँगै समूह ‘बी’ बाट भारत र पाकिस्तान सेमिफाइनल प्रवेश गरेका छन्। अब नेपालले समूहचरणको अन्तिम खेलमा युएइको सामना गर्ने छ।
नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारतले २२.१ ओभरमानै १ विकेट गुमाएर पुरा गर्यो। भारतको जितमा ओपनर साइ सुदर्शन र अभिषेक शर्माले पहिलो विकेटका लागि १ सय ३९ रनको साझेदारी गरेका थिए। शर्मा ८७ रनमा आउट हुँदा सुदर्शन भने ५८ रनमा अविजित रहे। त्यस्तै ध्रुव जुरेल १५ रनमा अविजित रहेका थिए। नेपालका लागि कप्तान रोहित पौडेलले १ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा १६७ रन बनाउँदा अलआउट भएको थियो। ३७ रन जोड्दा ५ विकेट गुमाएको नेपाललाई कप्तान रोहित पौडेलको अर्धशतकीय इनिङले केही समालेपनि प्रतिस्पर्धात्मक लक्ष्य दिन भने नेपाली खेलाडी असफल भए। श्रीलंकाको आर प्रेमदासा रंगशालामा कप्तान पौडेल बाहेक अन्य खेलाडीको प्रदर्शन गतिलो रहेन।
नेपालका लागि कप्तान रोहितले ८५ बलमा ६५ रन बनाउँदा गुल्सन झाले ३० बलमा ३८ रन बनाएका थिए। त्यस्तै थप दोहोरो स्कोरका रुपमा देव खनालले १५ रन जोड्दा सोमपाल कामीले १४ रनको स्कोर बनाएका थिए। नेपालका अन्य सात ब्याटर दोहोरो रनको स्कोर बनाउन असफल रहे।
भारतका लागि निशान्त सिन्धुले ४ विकेट लिंदा रजभर्धनले हङ्गरगेकरले ३ तथा हर्सित रानाले २ विकेट लिए। थप एक विकेट मानभ सुथरको नाममा रह्यो।
यसअघि नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो। भारत भने पहिलो खेलमा युएई ‘ए’ लाई ८ विकेटले पराजित गरेको थियो।