काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा नेकपा (माओवादी केन्द्र) का नेताहरू साउन ७ गते भारत भ्रमणमा जाने भएको छ ।
नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्य टोली भारत जाने भएको छ । टोलीमा भुसालसँगै माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई रहेका छन् ।
माओवादी केन्द्रका एक नेताका अनुसार छ दिनसम्म हुने सो भ्रमणको क्रममा भारतका दिल्ली लगायत विभिन्न सहरको अवलोकन गर्ने बताइएको छ । भ्रमणको क्रममा भाजपाका शीर्ष नेताहरूसँग भेटघाट तथा अन्तरक्रिया हुने बताइएको छ । यद्यपि को कोसँग भेटघाट हुने भनी कार्यतालिका बनेको छैन ।
विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई भाजपाले बोलाएर आफ्नो पार्टीको गतिविधि बारे जानकारी गराउँदै आएका छन् । सोही क्रममा माओवादी नेताहरूलाई निमन्त्रण दिएर बोलाएको हो । यसअघि भाजपाका निमन्त्रणामा नै माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७९ असार ३१ गते भारत भ्रमण गरेका थिए ।
त्यसअघि २०७८ असोज २१ गते नेपाल काँग्रेसका नेता एवं वर्तमान अर्थमन्त्री डा.प्रकाशरण महतको नृत्वमा एक टोली भारत भ्रमणमा गएको थियो । तीन सदस्यीय प्रतिनिधि मण्डलमा नेता महतसहित अजय चौरासिया र उदय शमशेर जबरा थिए । ती नेताहरू दिल्ली, लखनउ तथा बनारसको भ्रमण गरी भाजपालगायत विभिन्न शीर्ष नेताहरूसँग छलफल गरेर फर्केका थिए । त्यसपछि चैतमा भारत भ्रमणमा गएका काँग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सुरुमै भाजपाको हेडक्वार्टर पुगेका थिए । त्यतिबेला सभापति देउवाको आलोचना पनि भएको थियो ।
सरकारी भ्रमणमा गएका देउवा भाजपाको हेडक्वार्टर जान नहुने टिप्पणी भएको थियो । यसअघि दलका नेताहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीले निमन्त्रण गरेर चीनको भ्रमण गराउने गर्थ्यो । पछिल्लो समय त्यसको सिको भाजपाले पनि गरेको छ ।
भाजपाको विदेश विभाग प्रमुखमा डा.विजय चौथाईवाला आएपछि दुई देशको दलहरूको बीचमा सम्बन्ध बनाउन यस्ता भ्रमणको सुरुवात भएको हो । औपचारिक रूपमा माओवादी र काँग्रेसलाई भारतको भ्रमण गराइसकेको छ । तर हालसम्म एमालेलाई भ्रमण गराएको छैन । पार्टीका महासचिव विष्णु पौडेलको निमन्त्रणामा चौथाईवालाले दुई वर्षअघि नेपालको भ्रमण गरिसकेका छन् ।