काठमाडाैं । यही असार २९ मा बसेको यस मोर्चाको बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गरेको छ । तिनका बारेमा जानकारी गरी कार्यान्वयनका लागि यहाँहरुसहित मोर्चाभित्र र मोर्चाबाहिर रहनुभएका देस, जनता र क्रान्तिका हिमायती सम्पूर्ण शक्ति, संघसंस्था र व्यक्ति-व्यक्तित्वहरु लगायत सम्बन्धित सबैसँग सहयोगको लागि हार्दिक अनुरोध छ ।
१. बैठक सुरु हुनु अघि बैठक संचालनका लागि सामान्य विधिहरु तय गरी छलफलका एजेन्डाहरु संकलन गरियो र बैठक औपचारिक रुपमा सुरु भयो ।
सर्वप्रथम संयोजकले बैठकमा उपस्थित मोर्चाका घटक-सदस्यहरुलाई स्वागत अभिवादन गरी बैठकमा समयसिमामा केन्दृत भै संयम, सौहार्दता, र सकृयतापूर्वक सहभागी हुन अनुरोध गर्नुभयो । तत्पश्चात् नेपाल र विश्वकै क्रान्तिकारी आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवनको बलिदान गर्ने सम्पूर्ण ज्ञात-अज्ञात महान् वीर शहीदहरु, देस र जनताको मुक्ति र प्रगतिको आन्दोलन र युद्धकै क्रममा प्रतिक्रियावादी राज्यसत्ताद्वारा लामो समयदेखि बलपूर्वक
बेपत्ता बनाइएका र घाइते-अपांग बनाइएका वीर-वीराङ्गणा योद्धाहरु एवं राष्ट्रियता, जनतन्त्र/लोकतन्त्र र जनजीविका/विकासका निम्ति आजीवन समर्पित रहेर गुमनाम बनेका वा सत्नाम प्राप्त गरेका इमानदार र निष्ठावान् गुरु, नेता, कार्यकर्ता र जनताप्रति यथोचित सम्झना, सम्मान, श्रद्धाञ्जली र सलामी गर्दै १ मिनेट मौनधारण गरी श्रद्धासुमन अर्पण गर्न प्रस्ताव गरेपछि सम्पूर्ण शहीद, बेपत्ता, घाइते-अपाङ्ग र अग्रजहरुप्रति सबैले उठेर मौन धारण गरेर पूर्ण श्रद्धा व्यक्त गरियो ।
२. मोर्चाको यो बैठक मुख्यत: मोर्चाको अवधारणा र आचारसंहिता-कार्यविधि पारित गर्ने उद्देश्यले बसेको हुनाले लामो समयका पटकपटकका छलफलमा आएका सुझावहरुलाई समेट्दै परिमार्जन, पुन: परिमार्जन गर्दै परिमार्जन गर्न गठित कार्यदलले बैठकमा प्रस्तुत गरेको परिमार्जित अन्तिम मस्यौदामा सहभागी सबै घटक-सदस्यहरुद्वारा पूर्ण सकृयता र गहन जिम्मेवारी बोधका साथ व्यापक, विस्तृत, व्यवस्थित र बुँदागत रुपमा विहङ्गम छलफल गरियो ! छलफलमा आएका सबै तर्क, तथ्य र अडानहरुलाई उच्च सम्मान गर्दै देस, जनता र क्रान्तिप्रति गम्भीरतम जिम्मेवारी बोध गरी अधिकतम समझदारी गर्ने प्रयास गर्दै प्राप्त भएका सही, आवश्यक र महत्त्वपूर्ण सुझावहरुलाई समावेश गर्ने गरी प्रस्तुत मस्यौदालाई सर्वसम्मत रुपमा पारित गर्ने अत्यन्त दूरगामी महत्वको एक ऐतिहासिक निर्णय गरियो ।
३. मोर्चाका एक जिम्मेवार घटकका तर्फबाट विगतको हाम्रो बैठकको कुनै विषयलाई लिएर प्रस्तुत गरिएको असहमतिपत्रलाई पैरवी, पक्षपोषण र पुष्टि गर्ने पक्ष स्वयं नै अनुपस्थित भएकोले छलफल एकपक्षीय हुने हुनाले त्यसो नगरी उहाँहरुलाई बैठकमा उपस्थित हुन अनुरोध गर्ने निर्णय गरियो ।
४. गत बैठकले नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालको ४५ औं स्मृति दिवसका सन्दर्भमा आगामी श्रावण ८ गते “वर्तमान नेपाली कम्युनिस्ट आन्दोलन र पुष्पलाल ” विषयक अन्तर्कृया भव्य र दिव्यरुपमा सम्पन्न गर्ने निर्णय गरे अनुसार सो कार्यक्रमको स्थान र समय निश्चित गरियो । यस अनुसार सो कार्यक्रम काठमाडौंको मीनभवन स्थित थाहा पुस्तकालयको सभाहलमा ११.३० मा सुरु गर्ने निर्णय गरियो र कार्यक्रमको ब्यानर बनाउने, अतिथिहरु निश्चित गर्ने र बोलाउने जिम्मा केही जिम्मेवार सदस्यहरुलाई दिने निर्णय गरियो ।
५. पारित अवधारणा र आचारसंहिता-कार्यविधिलाई अन्तिम परिमार्जन गरिसकेपछि यसलाई मोर्चामा आवद्ध भएका र हुन चाहेका सहधर्मी शक्ति, संस्था, समूह र व्यक्तित्वहरुकहाँ आवद्धताको सुनिस्चितताको लागि अनुरोध गर्दै पठाई उहाँहरुको अन्तिम निर्णय अनुसार आवद्ध शक्ति, संस्था, समूह र व्यक्तिहरुको नामावली र हस्ताक्षर सहित अब बस्ने बैठकको निर्णयद्वारा एक आकर्षक कार्यक्रममार्फत मोर्चाको यो अवधारणा र आचारसंहिता-कार्यविधिलाई घोषणा गर्ने निर्णय भयो ।
अन्तमा संयोजकले उपस्थित सदस्यहरुलाई देस र जनताप्रतिको गम्भीर दायित्व निर्वाह गर्ने आँट र लगनसहित प्रतिबद्ध र कटिबद्ध हुने यस राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको महत्वपूर्ण अवधारणा र आचारसंहिता-कार्यविधि लगायतका निर्णयहरु पारित गर्न आवश्यक भूमिका निर्वाह गर्नुभएकोमा हार्दिक धन्यवाद दिंदै अब उप्रान्त थप गम्भीर र जिम्मेवार भएर कर्तब्यपथमा लाग्न अनुरोध गर्दै बैठक सम्पन्न भएको घोषणा गर्नु भयो ।