काठमाडौं – सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबलको उपाधि हेल्प नेपाल र नेपाल पुलिसले जितेका छन्। शनिबार भएको फाइनलमा महिला तर्फको उपाधि पुलिसले जित्दा पुरुष तर्फको फाइनलमा भने पुलिसलाई हराउँदै हेल्प नेपालले जित्न सफल भयो।
नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा पुलिसले अर्को विभागिय क्लब एपिएफ ३-१ सेटमा पराजित गर्दै उपाधी उचाल्यो। लिगचरणमा शीर्ष स्थानमा रहेर अन्तिम दुईमा पुगेको पुलिसले फाइनलमा पनि आफ्नो दबदबा राख्दा महिला तर्फको उपाधि जितेको हो।
खेलमा पुलिसले पहिलो सेट २५-१२ ले सहज रुपमा जित्दा दोस्रो सेट २१-२५ ले एपिएफलाई सुम्पन पुग्यो। तर तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै पुलिसले जित निश्चित गरेको थियो। पुलिसले तेस्रो सेट २५-२३ ले जित्दा चौंथो सेट २५-१९ ले आफ्नो पक्षमा पार्दै ट्रफि सहित नगद ६ लाख हात पार्यो। उपबिजेता बनेको एपिएफले नगद ३ लाख हात पार्यो।
त्यस्तै तेस्रो स्थानमा रहेको न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले नगद १ लाख ५० हजार र चौथो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले नगद ७५ हजार जित्न सफल भए।
पुरुष तर्फ हेल्प नेपालको सहज जित
त्यस्तै पुरुष तर्फको फाइनलमा हेल्प नेपालले विभागिय क्लब नेपाल पुलिसलाई सहज रुपमा ३-१ ले पराजित गर्दै उपाधि जित्यो। राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष तर्फको फाइनलमा आफ्नो उच्च लयलाई कायम राख्न हेल्प नेपाल सफल भएको थियो।
पहिलो सेट २५-१९ ले जितेको हेल्प नेपाले दोस्रो सेटमा भने नाटकिय रुपमा खेल पुलिसलाई सुम्पियो। उसले दोस्रो सेटमा ११ अङ्कमात्र जोड्दा पुलिसले सहज रुपमा खेल आफ्नो पक्षमा पार्यो। पुलिसले २५-११ ले जित्दा त्यसपछि भने उसले खेलमा आफ्नो रवाफ देखाउन सकेन्।
तेश्रो र चौथो सेट २५-१८, २५-१८ ले आफ्नो पक्षमा पार्दै हेल्प नेपाल च्याम्पियन बनेको थियो। उपाधी जितेको हेल्प नेपालले ट्रफी सहित ६ लाख नगद हात पार्दा उपबिजेता बनेको नेपाल पुलिसले नगद ३ लाख र ट्रफी जित्न सफल भयो। तेस्रो बनेको आर्मीले नगद १ लाख ५० हजार प्राप्त गर्दा चौथो स्थानमा रहेको एपिएफले नगद ७५ हजार जित्न सफल भयो।
ब्यक्तिगत विधामा कस्ले के जिते?
८ दिन सम्म चलेको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी महिला तर्फ नेपाल पुलिस क्लबकी पुनम चन्द घोषित हुँदा पुरुष तर्फ हेल्प नेपालका पाकिस्तानी खेलाडी अईमल खान घोषित भए। सर्वोत्कृष्ट खेलाडीहरुले जनही ३५ हजार प्राप्त गरेका थिए।
विधागत तर्फ नेपाल पुलिसकी शान्तिकला तामाङ्ग उत्कृष्ट लिवेरो, कमला पुन उत्कृष्ट सेटर, उषा भण्डारी उत्कृष्ट स्पाईकर, रुपेश बिष्ट उत्कृष्ट प्रशिक्षक र सुमित्रा रेग्मी उदिमान खेलाडी घोषित भए। यस्तै एपिएफकी सरस्वती चौधरी उत्कृष्ट सर्भर र आर्मीकी संगम महतो उत्कृष्ट ब्लकर घोषित भए ।
पुरुष तर्फ हेल्प नेपालका टोप बहादुर थापा उत्कृष्ट लिवेरो, अद्नान खान उत्कृष्ट सेटर, मजहर अली उत्कृष्ट स्पाईकर र उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । यस्तै उत्कृष्ट सर्भरमा एपिएफका हेमन्त मल्ल, उत्कृष्ट ब्लकरमा आर्मीका दुर्गा बहादुर खड्का र उदियमान खेलाडीमा नेपाल पुलिसका रविन चन्द घोषित भए । विधागत तर्फका उत्कृष्टले जनही नगद १५ हजार र उदियमान खेलाडीहरुले जनही १० हजार प्राप्त गरे।
विजयी टिम तथा खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग, गण्डकी प्रदेश सांसद लिल बहादुर थापा, राष्ट्रिय बाणिज्य बैंकका कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठ, पूर्व अन्तराष्ट्रिय खेलाडी एवं सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक दुर्ज कुमार राई लगायतले पुरस्कार वितरण गरेको थिए।
प्रतियोगितामा पुरुष तर्फ तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफल क्लब र नेपाल पुलिस क्लब, हेल्प नेपाल, दावाँली मिलन क्लब, सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लब र गण्डकी प्रदेश भलिबल संघ तथा महिला तर्फ तीन विभागिय टोली आर्मी, एपिएफ, पुलिस क्लब, न्यु डायमन्ड युथ स्पोर्टस् क्लब, एभरेष्ट भलिबल क्लब र गण्डकी प्रदेश भलिबल संघले प्रतिस्पर्धा गरेका थिए।