धनगढी – सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेश सभामा पेश भएको एक महिनापछि बहुमतले पारित भएको छ।
शनिबार राति बसेको सुदूरपश्चिम प्रदेश सभाको दोस्रो अधिवेशनको २१औं बैठकबाट बजेट पारित भएको हो।
स्वतन्त्र सांसद र एमालेको अनुपस्थिति तथा राप्रपाको सहभागितामा सुदूरपश्चिम प्रदेश सभाबाट आगामी आर्थिक वर्ष २०८०/८१ को लागि तयार पारेको बजेट पारित भएको छ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको कुल बजेट २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँ बजेट ल्याएको छ।
आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सभामा प्रस्तुत गरेको बजेटमा सत्तापक्ष दल काँग्रेस, नेकपा एस र माओवादी गरी पक्षमा ३९ सांसद र प्रतिपक्ष दल राप्रपाका १ जना साँँसद बजेटको विपक्षमा देखिए भने एक जना स्वतन्त्र सांसद र प्रतिपक्ष दल नेकपा एमालेका प्रदेस शभा सदस्य सभामा अनुपस्थित भए ।
सत्ता पक्षकै सांसदले बजेटको विरोध गरेपछि बजेट पास हुन सकेको थिएन्। तर शनिबार सत्तारुढ दलहरुबीच निर्वाचन क्षेत्रमा पूर्वाधार विकास कार्यक्रमको बजेट ३ करोडबाट ५ करोड बनाउने सहमतिपछि बजेट बहुमतले पारित गरिएको छ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रदेशसभाको बैठक बहिस्कार गरेको थियो। तर अन्ततः राप्रपाकी सांसद खेमादेवी विष्ट प्रदेशसभाको बैठक उपस्थित भइन्। प्रतिपक्ष विना बैठक राखेर बजेट पास गर्दा नैतिक प्रश्न उठ्ने भएपछि मुख्यमन्त्री कमलबहादुर शाह आफै गएर उनलाई सार्वजनिक लेखा समिति सभापति बनाउने आश्वासन दिएर बैठकमा उपस्थित गराइएको बुझिएको छ।