काठमाडौं । प्रतिनिधिसभामा मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने कार्यसूची समावेश गरिएको छ।
प्रतिनिधिसभाबो बैठक अगाडि संसद् भवन नयाँ बानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने कार्यसूची तय गरेको हो।
कार्यसूचीअनुसार कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको दफाबार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
दफावार छलफलपछि विधेयकमाथि परेका संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि कानुनमन्त्री गुरुङले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
सरकारले मिटरब्याज पीडितलाई कारबाही गर्न अध्यादेश नै ल्याएको थियो। वैशाख २० गते ल्याइएको अध्यादेश असार २० गते निष्कृय हुँदै थियो। तर, सरकारले अन्तिम समय अर्थात अध्यादेश आएको ५८ दिनमा सदनमा पेश गर्यो।
असार २० गते उक्त विधेयक पारित गर्ने कार्यसूची थियो। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार १८ गते दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदन नै चल्न दिएनन्। त्यसपछि उक्त विधेयक निष्कृय बनेको थियो। मिटर ब्याजी साहुलाई कारबाही गर्न ल्याइएको अध्यादेशलई ६० दिनभित्र संसद्बाट पास गरेर कानुन बनाइसक्नुपर्ने थियो।