काठमाडौँ – बंगलादेश भ्रमणमा रहेको नेपाली महिला टिमले घरेलु टोलीसँग आइतबार दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ।
बंगलादेशको महिला फुटबल टोलीसँग पहिलो खेलमा बराबरीको नतिजा निकालेको नेपाल दोस्रो खेल जित निकाल्ने लक्ष्यमा छ।
ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा खेल नेपाली समयअनुसार आज साँझ सवा पाँच बजे सुरु हुनेछ।
यसअघि भएको पहिलो खेलमा सावित्रा भण्डारीले इन्जुरी समयमा टिमको हार टारेकी थिइन्। त्यसअघि सविना खातुनको गोलमा बंगलादेशले दोस्रो हाफमा अग्रता लिएको थियो।
गत वर्ष काठमाडौं साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश भिडेयता यी दुईबीच मैत्रीपूर्ण खेलका दुई खेलहरू आयोजना भएका हुन्।
साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो।
दोस्रो खेल जित्नकै लागि प्रतिस्पर्धा गर्ने प्रशिक्षक अन्नतराज थापा बताउँछन्। उनी भन्छन्, ‘हामी यहाँ जित्नका लागि आएका हौंँ। दोस्रो खेलमा हामी अट्याकिङ फुटबल खेल्दै नतिजा निकाल्ने प्रयासमा रहने छौँ।’
उनले टिम अब बंगलादेशको मौसम अनुकूल फिट भएको पनि बताए। उनले दोस्रो खेलमा राम्रो गर्ने विश्वाससमेत व्यक्त गरे।