धनगढी – प्रदेश सभामा बजेट प्रस्तुत भएको एक महिना पुग्दा पनि सत्ता गठबन्धनको असहमतिका कारण बजेट पास भएको छैन। तीन दिनयता प्रदेश सभा बैठकमा निरन्तर बजेटमाथि छलफल चलिरहेको छ।
यता गठबन्धनका साझेदार दलबीच पटक–पटक बजेट पास गर्ने सम्बन्धमा छलफल चले पनि सहमति जुटन सकेको थिएन।
शनिबार सुदूरपश्चिममा सत्तारुढ गठबन्धनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम तीन करोडबाट बढाएर ५ करोड रुपैयाँ बनाउने सहमतिपछि बजेट पास हुने बाटोमा अघि बढेको छ।
शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रदेशसभा सदस्यको योजनामा निर्वाचन क्षेत्रमा खर्च गर्ने गरी प्रतिनिर्वाचन क्षेत्र ५ करोड बजेट राख्ने सहमति गरेको हो।
नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले ३ करोड रकमलाई ५ करोड पुर्याउनेलगायत अन्य विषयमा प्याकेजमै सहमति भएको बताए। उनले अब सहमतिसंगै अब बजेट पारित हुने बताए।
सुदूरपश्चिममा सत्तारुढ गठबन्धनकै दलहरुले यथास्थितिमा बजेटको समर्थन गर्न नसकिने बताउँदै आएका थिए। त्यस विषयमा सहमति खोज्न सत्तारुढ गठबन्धनको बैठक बसेको थियो।
सत्तारुढ गठबन्धनमा सहमतिपछि सकभर आजै र नभए आइतबारसम्म बजेट पारित गर्ने तयारी भएको सत्तारुढ गठबन्धनका एक नेताले बताए।