काठमाडौं- नेपाली राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछाने ग्लोबल टी-२० का लागि क्यानडा जाने निश्चित भएको छ। शुक्रबार अदालतमा सन्दीपले ग्लोबल टी-२०का लागि क्यानडा जानलागेको जानकारी गराएसँगै उनको क्यानडा यात्रा निश्चित भएको हो।
सन्दीपको फाइनल पेशी करीब एकमहिना पछि तोकिएको छ। अब सन्दीप क्यानडाबाट फर्किएपछि फाइनल सुनुवाई हुने छ। जसअनुसार सन्दीपले १ देखी २२ साउन सम्म क्यानडा जाने जानकारी अदालतलाई गराएका छन्। अदालतले उनको मुद्दाको अन्तिम सुनुवाईको पेशी ३२ साउनका लागि तोकेको छ।
सन्दीप सोमबार प्रतियोगिताका लागि क्यानडा प्रस्थान गर्दै छन्। उनीसँगै राष्ट्रिय टिमका अर्का खेलाडी दिपेन्द्र सिंह ऐरीपनि क्यानडा जाने छन्। यसअघि सन्दीप जिम्बाब्वेमा भएको विश्वकप छनोट खेल्न गएपछि लामो समय फाइनल पेशी रोकिएको थियो। उनको ग्लोबल टी-२० पछि अन्तिम सुनुवाईको मिति तय भएको सन्दीपका कानुनव्यवसायि सरोज कृष्ण घिमिरेले जानकारी दिए।