काठमाडौँ – कांग्रेस नेता गनन थापाले पार्टी संसदीय दलको नेताका लागि निरन्तर प्रयास भइरहेको बताएका छन्।
शनिबार विराटनगरस्थित विमानस्थलमा पत्रकारसँगको कुराकानीमा महामन्त्री थापाले दलको नेताका लागि आफ्नो प्रयास जारी रहेको बताएका हुन्।
उनले संसदीय दलको नेताका लागि आवश्यक हुँदा र आवश्यक संख्या पुग्दा त्यसलाई परिवर्तन गर्ने अवस्था विधानमा रहेको उल्लेख गरे।
उनले भने, ‘दलको नेता परिवर्तनको प्रयोग पार्टीभित्र भएको पनि छ। हिजोको दिनमा दलको नेता गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीबाट राजीनामा दिइसक्दा, त्यसबेला संख्या पुराएर तत्कालीन नेता शेरबहादुर देउवाले दलको नेताको लागि प्रयास गर्नु भएको र सफल समेत हुनुभएको थियो। त्यसैले कांग्रेसभित्र संसदीय दलको आवश्यकता हुँदा र संख्या पुग्दा दलको नेता परिवर्तन भएको इतिहास छ।’
‘संसदीय दलको नेताको लागि मेरो प्रयास निरन्तर जारी रहेको छ। मैले गर्ने प्रयासमा साथीहरूले संख्याले सार्थकता दिने महसुस हुँदा मेरो प्रयास पुनः हुनेछ’, थापाले थपे।
डा. शेखर कोइराला र तपाईंहरू फरक यात्रामा लाग्नु भएको हाे भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘होइन। छैनौँ। हामी सँगै छौँ।’
त्यसैगरी, महामन्त्री थापाले जारी केन्द्रीय कमिटि बैठकले नीति महाधिवेशनको मिति तय गर्ने बताए। पछिल्लो समय मुलुकमा दलहरू गठबन्धन गर्दै अघि बढ्ने परम्परालाई रोक लगाउँदै अघि बढ्न कांग्रेसको नीति महाधिवेशन तयार हुनुपर्ने महामन्त्री थापाको भनाइ छ।
उनले भने, ‘निर्वाचन अघि गठबन्धन गर्ने जुन राजनीति संस्कृत मुलुकमा प्रारम्भ भयो । त्यसले सिंगो राजनीतिलाई गाँज्यो। राजनीतिक दलहरू स्वतन्त्र ढंगबाट सोच्न पनि नसक्ने अवस्थामा पुगेका छन्। कांग्रेसको नीति महाधिवेशनले त्यसमा ब्रेक लगाउनुपर्नेछ। कतिपय कुराहरुमा नयाँ बाटो खोज्नुपर्ने छ। कतिपय लिइरहेको नीतिहरूलाई रोक लगाउनुपर्ने अवस्था छ।’
पार्टीका नेताहरूको ध्यान जारी बैठकबाट नीति महाधिवेशन भदौ मसान्तसम्ममा सम्पन्न गर्ने मिति तय गर्नुपर्नेमा ध्यानाकृष्ट रहेको महामन्त्री थापाले बताए।