भारतमा भारी वर्षाका कारण उत्तरी राज्य प्रभावित भएका छन् । हालसम्म वर्षाका कारण आएको बाढीपहिरोलगायत विपत्तिमा परी १ सय जनाभन्दा बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सडक, पुलपुलेसा, घरहरू भत्किएका छन् । धेरै क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ । वर्षाकै कारण विद्यालय तथा कलेजहरू बन्द भएका छन् ।
वर्षाका कारण हिमाचल, उत्तर प्रदेशसँगै राजधानीसमेत रहेको नयाँदिल्लीमा असर पुगेको छ । हिमाचल प्रदेश सरकारका अनुसार उक्त राज्यमा करिब ८८ जनाको मत्यु भएको छ, जसमध्ये ४२ जनाको पछिल्लो ५ दिनमा ज्यान गएको हो । बाढीमा परी यातायातका साधनदेखि घरसम्म बगेको राज्य सरकारको भनाइ छ । यस्तै, उत्तर प्रदेशमा वर्षाजन्य विपत्तिमा परी १२ जनाको मृत्यु भएको प्रदेश सरकारका प्रवक्ता शिशिर सिंहले बताए । मृत्यु भएकामध्ये ९ जनाको डुबेर ज्यान गएको थियो । राजधानी नयाँदिल्लीमा पनि १ जनाको मृत्यु भएको छ भने कश्मीरमा ४ जनाको बाढीपहिरोमा परी निधन भएको छ ।
प्रशासनले हिमाचलमा फसेका ३ सय जनाको हेलिकोप्टरमार्फत उद्धार गरेको छ, जसमा अधिकांशजसो पर्यटक थिए । उनीहरू शनिबारदेखि हिमाचालको चन्द्रताल क्षेत्रमा फसेका थिए । राज्य आपत्कालीन केन्द्रका अनुसार वर्षा तथा भूस्खलनबाट १७० घर पूर्णमा क्षति तथा ६०० घरमा आंशिक क्षेत्र पुगेको छ ।
भारतको राजधानी नयाँदिल्लीस्थित यमुना नदीको जलस्तर खतराको तहभन्दा माथि थुप्रै परिवार विस्थापित भएका छन् । उक्त नदी आसपासको आवासीय क्षेत्रमा बाढी पसेको छ । सडक तथा घर जलमग्न भएका छन् । नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित स्थानमा लगिएको छ । नयाँदिल्लीको मुख्यमन्त्री कार्यालयका अनुसार यमुनामा ४० वर्षयताकै ठूलो बाढी आएको हो । यमुनाको जलस्तर बिहीबार २०८.६ मिटर माथि पुगेको छ । प्रशासनका अनुसार ३० हजार स्थानीयलाई राहत शिविरमा लगिएको छ । भारतको मौसम पूर्वानुमानसम्बन्धी निकायले उत्तरी क्षेत्रमा आगामी दिनमा अझै भारी मात्रामा वर्षा हुने प्रक्षेपण गरेका छन् ।
बाढीकै कारण पानी प्रशोधन केन्द्र बन्द गर्नुपर्दा केही क्षेत्रमा खानेपानीको संकट हुन सक्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गर्दै वजिरावाद, चन्द्रवाल र ओख्ला क्षेत्रको पानी प्रशोधन केन्द्र बन्द गर्नुपरेको जनाएका हुन् । बुधबार उनले केन्द्रीय गृहमन्त्री अमित शाहलाई पत्र लेख्दै हथिनीकुण्ड ब्यारेजबाट सीमित गतिमा पानी छोड्न आग्रह गरेका थिए । उक्त ब्यारेजबाट पानी नियन्त्रण नगर्दा यमुनाको जलस्तर बढेको पत्रमा उल्लेख छ । दिल्लीमा केही सातापछि जी–२० देशको बैठक हुँदै छ । देशको राजधानीमा बाढीको खबरले सकारात्मक सन्देश नजाने भन्दै केजरिवालले सबै मिलेर दिल्लीको समस्या समाधान गर्नुपर्ने बताएका छन् । यस्तै, हिमाचाल, उत्तराखण्ड, पञ्जाब, हरियाणा, जम्मु–कश्मीर र राजस्थानको कतिपय क्षेत्र जलमग्न भएका छन् ।