काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेता तु स्याउलिनले नेपाल र चीन मिलेर सँगसँगै विकास गर्नुपर्ने बताएका छन् । फ्रेड्न्स अफ सिल्क रोड क्लब नेपालद्वारा शुक्रबार आयोजित एक सेमिनारमा ‘चिनियाँ विकास मोडल’ बारे आफ्नो विचार प्रस्तुत गर्दै सीपीसी विदेश विभागका काउन्सिलर तुले दुई मुलुकबीचको मित्रता लामो समयदेखि रहिआएको उल्लेख गरे ।
उनले नेपालमा सन् २०१५ मा आएको ठूलो भूकम्पको समय र त्यसपछिको पुननिर्माणको समयमा नेपाललाई चीनले सहयोग गरेको पनि स्मरण गराए । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको नेपालको ऐतिहासिक भ्रमणको बेलामा धेरै सहयोगको घोषणा भएको उल्लेख गर्दै त्यसपछि दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको बताए ।
उनले सीले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा सँगै सम्बृद्धि गर्ने, सँगै काम गर्ने तथा यसले अझ थप काम गर्न सक्ने उल्लेख गरे । उनले बीआरआईले आर्थिक समृद्धिलाई थप सहयोग गर्ने पनि बताए ।
फ्रेड्न्स अफ सिल्क रोड क्लब नेपालका महासचिव कल्याणराज शर्माले चीनले कसरी चमत्कारी विकास गर्यो र नेपालले त्यसबाट कसरी फाइदा लिने भन्ने कुरामा ध्यान दिनुपर्ने उल्लेख गरे । ‘विगत ४० वर्षमा विश्वमा धेरै देशहरू कहाँबाट कहाँ पुगे । नेपाल अझै त्यही अवस्थामा छ । नेपालले अबको एक दशकमा विकास गर्नु पर्छ, नत्र ढिलो हुन्छ,’ उनले भने,‘नेपालमा राजनीतिक अस्थिरताले गर्दा पनि समस्या भएको छ ।’
काठमाडौं विश्वविद्यालयअन्तर्गत ग्लोबल इनगेजमेन्ट डिभिजनका कार्यवाहक निर्देशक उद्धव प्याकुरेलले चीनले पछिल्लो समय गरेको विकासलाई लिएर विश्व बैंक र यूएनडीपी जस्ता संस्थाले समेत प्रसंशा गरेको बताए । उनले गरिबी हटाउने कि गरिब हटाउने बारे उदाहरण प्रस्तुत गर्दै चीनले गरिबी हटाउने मोडल अपनाएको प्रस्ट पारे ।
नेपाल–चीन सोसल रिलेसन एकेडेमीका अध्यक्ष प्राध्यापक बालमुलुकन्द रेग्मीले चीनले कसरी निजी क्षेत्रलाई प्राथमिकताका साथ प्रोत्साहन गरेर आर्थिक समृद्धिको ढोका खोलेको बारेमा चर्चा गरे । माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले अहिलेको चीनको विशेषता समृद्धि हासिल गर्ने गरेको बताए ।