काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरुप्रति कटाक्ष गरेका छन्।
पुराना पार्टीका दिन गए भन्दै आएका नयाँ पार्टीहरुले धर्ती, देश, धर्मशास्त्र, संस्कृतिहरु सबै पुराना हुन् भनेर बिर्सन नहुने बताए। उनले नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने उल्लेख टिप्पणी गरे।
उनले निरन्तर बगिरहेका नदीहरुबाट नै देशले विद्युत उत्पादन गर्नसक्छ भन्नेकुरा नबिर्सिन नयाँ राजनीतिक दलहरुसँग आग्रह गरे। महामन्त्री शर्माले कांग्रेस अझै बलियो, परिपक्व, संयमित र एकतावद्ध बन्नुपर्ने बेला आएको बताए।
उनले साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्ने र राष्ट्रव्यापी रुपमा अभियान घोषणा गरी पुरानो दललाई तरोताजकी बनाएर नवीन बनाउने क्रम सुरु हुने बताए।
उनले भने, ‘…यो देश आफैमा पनि पुरानो हो। पुरानो नाता सम्बन्धहरुलाई तोडिराखेर नयाँ नयाँ भनिराखेर बग्दै गरेको खहरेबाट बिजुली निकाल्न सकिँदैन। हामीले बिर्सिनु हुँदैन, निरन्तर बगिरहेका नदीहरुबाट नै देशले विद्युत उत्पादन गर्नसक्छ भन्नेकुरा।’