काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सबैको पार्टी भएको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएको बताए।
उनले सबै आदिवासी जनजातिहरु सहभागिता, समर्थनमा मात्रै नभइ पार्टीप्रति प्रतिबद्ध हुन जरुरी रहेको उल्लेख गरे। नेपाली कांग्रेसमा सबै जनताको सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।
उनले भने,‘यो देश सबैको देश हो। आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश हो। विशेष गरी नेपालको राजनीतिमा सबैको भूमिका, सबैको सहभागितामा उदार हुनुपर्ने आवश्यकता छ। साथसाथै सबैलाई कुनै न कुनै किसिमले समावेशी, राजनीतिसहित सबै हरेक ठाउँमा उहाँहरुको पनि समावेशी हुन आवश्यक छ।’
उनले थपे, ‘हाम्रो पार्टी समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी हो। हाम्रो पार्टीमा बढीभन्दा बढी आदिवासी जनजातिहरुले सहभागिता,समर्थन मात्रै होइन, पूर्ण रुपले आदिवासी जनजातिका जनता नै पार्टीप्रति प्रतिबद्ध हुनुपर्छ। सबै जनताको सहभागिता आवश्यक छ, पार्टीमा।’
सभापति देउवाले सबैलाई सँगै र साथमा लिएर हिँड्न कांग्रेस तयार रहेको बताए।