वीरगन्ज । नारायणी अस्पतालको बाहिरी क्षेत्रको सरसफाइको जिम्मेवारी साउन १ गतेदेखि बीरगन्ज महानगर पालिकाले लिने भएको छ। शुक्रबार वीरगन्ज महानगर पालिकाले नारायणी अस्पताल सित अस्पतालको सर सफाइ गर्ने सम्झौता गरेको छ।
नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरन्जन साह र वीरगन्ज महानगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
वीरगन्ज महानगर पालिकाको नगर प्रमुख राजेशमान सिंह र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्थितमा सम्झौता पत्र आदानप्रदान भएको छ।
सम्झौता अनुसार अगामी साउन १ गतेदेखि नारायणी अस्पतालको बाहिरी क्षेत्रको सम्पुर्ण सरसफाइ बीरगन्ज महानगर पालिकाले गर्ने र सो बापत नगर पालिकाले अस्पतालसित कुनै शुल्क नलिने उल्लेख छ। साउन १ गतेदेखि एक जना नाइकेको नेतृत्वमा ९ जनाको सरसफाइकर्मी परिचालन गरिने सरसफाइ शाखाको प्रमुख सर्फुदिन मियाँले जानकारी दिए ।