काठमाडौं- सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले फाइनल सम्भावना बलियो बनाएको छ। बिहीबार भएको खेलमा अर्को विभागिय क्लब त्रिभुवन आर्मीलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनल सम्भावना बलियो बनाएको हो।
चौथो खेल सम्म अपराजित आर्मीलाई पाँचौ खेलमा सोझो सेटमा हार चखाउन पुलिस सफल भयो। सोझो सेटको जितसँगै पुलिसले महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो। पुलिसले आर्मीलाई २५-२१, २८-२६, २५-१४ ले पराजित गर्यो। जितसँगै पुलिसको ५ खेलबाट १२ अंक बनाएको छ। पुलिस अंक तालिकामा दोस्रो स्थानमा उक्लियो।
त्यस्तै बिहीबारनै भएको अर्को खेलमा हेल्प नेपालले आफ्नो अपराजित यात्रा जारी राख्यो। प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा हेल्प नेपालले एपिएफलाई ३-२ को सेटमा पराजित गर्दै २ अंक जोड्न सफल भयो। खेलमा हेल्प नेपालले पहिलो र दोस्रो सेट २७-२५, २५-१७ ले जितेर खेललाई २-० को अग्रता बनायो। तर एपिएफले तेश्रो र चौथो सेट २५-२१, २५-२३ ले जित्दै खेलमा फर्कियो। तर अन्तिम तथा निर्णायक सेटमा हेल्प नेपालले एपिएफको म्याच प्वाईन्ट १४-११ को स्थितीलाई उल्टाउँदै १६-१४ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो।
हेल्प नेपाल ५ खेलमा १३ अंकका साथ शीर्षस्थानमा छ। नेपाल पुलिस क्लब ५ खेलमा ४ मा जित र १ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ। आर्मी ५ खेलमा ४ मा जित र १ मा हारसहित ११ अंकका साथ तेस्रो स्थानमा छ।
नेपाल एपिएफ क्लब ५ खेलमा ३ मा जित र २ मा हारका साथ ११ अंकका साथ चौथो स्थानमा छ। शुक्रबार हेल्प नेपाल र आर्मीबीच प्रतिस्पर्धा हुने छ। अर्को खेलमा एपिएफ र पुलिसबीच प्रतिस्पर्धा हुने छ। यी दुई खेलले फाइनल पुग्ने दुई टिमको तय हुने छ।
त्यस्तै प्रतियोगिताको महिला तर्फको खेलमा भने आर्मी र एपिएफले जित हात पारे। आर्मीले एक पक्षिय खेलमा एभरेष्ट भलिबल क्लबलाई २५-१२, २५-१९, २५-१९ ले पराजित गरेको हो। यस्तै अर्को खेलमा एपिएफले न्यु डायमण्डलाई २५-१९, २५-१८, २५-१२ ले पराजित गर्यो। महिला तर्फ पुलिस ४ खेलबाट १२ अंक, एपिएफ ५ खेलबाट ११ अंक, न्यु डायमन्ड ४ खेलबाट ८ अंक, आर्मी ४ खेलबाट ५ अंक, गण्डकी ४ खेलबाट ३ अंक र एभरेष्ट ५ खेलबाट ० अंकमा रहेका छन्। अंकका आधारमा पुलिस फाईनल प्रवेश गरिसकेको छ