काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आजदेखि सुरु भएको छ । मर्जर प्रकृया पश्चात यी दुवै कम्पनीले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् ।
यी दुई कम्पनीको जेठ २६ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावलाई पारित गरेको थियो । कम्पनीको चल अचल सम्पती तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात १ः१ कायम गर्ने सम्झौता भएको छ ।
एकिकृत कारोबार प्रयोजनको लागि दुवै कम्पनीले समायोजन तथा क्लोजिङ्ग प्रयोजनको लागि असार २९ गते शुक्रबार देखि ३१ गतेसम्म कम्पनीको सम्पूर्ण बीमा सेवा, कारोबार तथा अन्य सेवा बन्द गरिने छ ।
बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजीको लागि एकीकृत कारोबार पछि १० करोड बराबरको प्रिमियम मूल्यमा एफपिओ जारी गर्ने कम्पनीले जनाएको छ । मर्जर पश्चात बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । एकीकृत कारोबार सुरु गर्नको लागि डाटा माइग्रेसनको काम गर्नुपर्ने भएकोले आज असार २९ देखि ३१ गतेसम्म २ दुवै कम्पनीले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द रहनेछन् ।