काठमाडौं – नेपाल पुलिस क्लब र हेल्प नेपालले सातौं प्रधामन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगमा आफ्नो अपराजित यात्रा जारी राखेका छन्।
नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा आज नेपाल पुलिस क्लबले दावाँली मिलन क्लबलाई ३-० ले पराजित गर्दा अर्को खेलमा हेल्प नेपालले गण्डकी प्रदेश भलिबल क्लबमाथिपनि सोझो सेटमा जित निकाल्यो।
पुलिसले २५-२१, २५-१९, २५-१७ को सेटमा जित हात पार्दै ३ खेलबाट ८ अंक बनाउन सफल भयो। पुलिसले आफुले खेलेका ३ वटै खेल जितेतामा पनि गण्डकी संग अंक बाडेको थियो। यस्तै पुरुष तर्फकै अर्को खेलमा हेल्प नेपालले पनि आफ्नो तेश्रो खेलमा गण्डकी प्रदेश भलिबल क्लब माथी ३-० को सोझो सेटमा जित निकाल्दै फाइनल सम्भावना कायम राखेको छ। हेल्प नेपालले गण्डकीमाथी २५-२२, २५-१७, २८-२६ को जित निकालेको हो। जितसँगै हेल्प नेपालको ९ अंक भएको छ । पराजित भएपछि गण्डकीको फाइनल सम्भावना भने सकिएको छ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिग प्रतियोगिताको महिला तर्फको खेलमा एपिएफले एभरेष्ट भलिबल क्लबलाई २५-९, २५-१२, २५-११ को सोझो सेटमा पराजित गर्दै थप ३ अंक जोडेको छ। एपिएफको ३ खेलबाट ८ अंक भएको छ । एपिएफले आर्मी संग अंक बाँडेको थियो ।
त्यस्तै न्यू डायमन्ड र आर्मीबिच भएको खेलमा न्यू डायमन्डले ३-२ सेटमा जित निकाल्यो। पहिलो र दोश्रो सेट २५-१५, २५-२१ ले आफ्नो पक्षमा पारेको डायमन्डले तेश्रो र चौथो सेट १९-२५, २२-२५ ले आर्मीलाई सुम्पन पुग्यो । पाँचौ तथा अन्तिम सेटमा डायमन्डले १५-९ ले खेललाई आफ्नो पक्षमा पार्दै खातामा थप २ अंक जोडेको हो । हारका बावजुद आर्मीको यो सहित २ अंक भएको छ।
राउण्ड रोविन लिगमा क्लबले प्राप्त गरेको अंकको आधारमा पहिलो र दोश्रो स्थान रहने टोलीबिच उपाधिका लागि भिडन्त हुने छ।