काठमाडौँ / भारतको हिमाचल राज्यको शिमलामा गएको पहिरोमा परी एकै परिवारका ३ नेपालीको मृत्यु भएको छ। शिमला जिल्लाको क्यारा भन्ने ठाउँमा सोमबार बिहान गएको पहिरोमा परी रुकुम पश्चिमका ३ जनाको मृत्यु भएको हो ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर-९ खहरे, टुमीबोटका दीपबहादुर वली, श्रीमती भीमा वली र छोरा मोहन वलीको पहिरोमा परी मृत्यु भएको वडाध्यक्ष हरिबहादुर खड्काले इकान्तिपुरलाई बताए ।
जेठा छोरा पनि उनीहरूसँगै बस्ने भए पनि अन्यत्र गएकाले बच्न सफल भएको वडाध्यक्ष खड्काले जानकारी दिए । मंसिरतिर पौरी-गढवालतिर गएका दीपबहादुर वली केही महिनाअघि मात्र शिमला पुगेका थिए । श्रीमती र छोरा मोहन भने २०/२२ दिनअघि मात्र शिमला पुगेको वडाध्यक्ष खड्काले बताए । उनीहरूको मृत्यु भएपछि रुकुम पश्चिमबाट २ जना आफन्तलाई शिमला पठाएको पनि उनले बताए ।
केही दिनयता हिमाचललगायत उत्तर भारतका केही क्षेत्रमा भारी वर्षा भइरहेको छ । जसका कारण धेरै ठाउँमा बाढी/पहिरोले जनधनको क्षति गरेको छ । हिमाचल, उत्तराखण्ड, उत्तर प्रदेशलगायतका राज्यमा गरी कम्तीमा २२ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।