काठमाडौँ / उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वीरेन्द्र जैशीको अनशन तोडाएका छन् । नेपाल प्रहरी अस्पताल पुगेर गृहमन्त्री श्रेष्ठले ०७३ फागुन १ मा कोखामा प्रहरीको गोली लागि सख्त घाइते भएका र उपचार तथा क्षतिपूर्तिका लागि तीन हप्तादेखि अनशनरत वीरेन्द्र जैसीको अनशन तोडाएका हुन् ।
वन तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्न गएका कैलालीका स्थानीय युवा जैसीलाई प्रहरीकै गोली लागेको थियो। तर उपचारमा कुनै सहयोग भएको थिएन । माइतीघरमा अनशन बस्दाबस्दै स्वास्थ्य अवस्था थप जटिल भएपछि सहयोगीहरूले उनलाई वीर अस्पतालमा भर्ना गरेका थिए। त्यसपछि स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई प्रहरी अस्पताल लगिएको थियो ।
अनशन तोडाउँदै उपप्रधानमन्त्री श्रेष्ठले उनको अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र कुनै उपयुक्त रोजगारी समेतको व्यवस्था गरिदिने वचन दिएका छन् ।