काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने बताएका छन्।
नैतिकता भन्ने चिज जीवितै छ भने प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने उनको जिकिर थियो।
सोमबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेकाले कसैले दबाब नदिई राजीनामा दिन उपयुक्त हुने तर्कसमेत गरे।
अध्यक्ष लिङदेनले संसदमा बोल्ने मौका नदिएको भन्दै आपत्तिसमेत जनाए। संसदमा सभामुखले आफ्नो पार्टीलाई बोल्ने मौका नदिई अघिल्लो बैठकमा सत्तापक्षलाई बोल्न दिएकोमा आफ्नो पार्टीको असन्तुष्टि रहेको उनले बताए।
अध्यक्ष लिङदेनले प्रधानमन्त्रीले भारतीय नागरिकले दिल्लीमा पटक–पटक धाएर आफूलाई प्रधानमन्त्री बनाएको भन्ने कुरा सैह्य नहुने बताए।