काठमाडौं । नेपाल पुलिस क्लबको महिला टोलीले सातौँ प्रधानमन्त्री कप एभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगमा लगातार तेस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा सोमबार भएको खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो ।
एकतर्फी प्रदर्शन गरेको पुलिसले आर्मीमाथि २५–१८, २५–१२, २५–१८ को नतिजा निकाल्न सफल भयो । जितसँगै पुलिसले नौ अङ्क बनाएको छ । यसअघि पुलिसले गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लबलाई हराएको थियो ।
नेपाल भलिबल सङ्घकोको आयोजनमा जारी लिगको अर्को खेलमा एपिएफ क्लबले गण्डकी प्रदेश भलिबल क्लबलाई ३–० को सोझो सेटमा स्तब्ध नायो । एपिएफले २५–१२, २५–८, २५–८ को नजिता निकालेको थियो । दोस्रो जितसँगै एपिएफले पाँच अङ्क बटुलेको छ ।
सोमबार नै भएको महिलातर्फको अर्को खेलमा होङ्गवान्जी न्यु डायमन्ड क्लबले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमाहरायो । न्यु डायमन्डले २५–१७, २५–१२, २५–१२ को जित निकालेको हो । लिगमा दोस्रो जितसँगै न्यु डायमन्डले ६ अङ्क बनाएको छ ।
यस्तै पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल क्लबले दावाँली मिलन क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । हेल्प नेपालले २५–१७, २५–२२, २५–२१ को जित निकालेको हो ।
पुरुषतर्फकै अर्को खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले २५–१९, २६–२४, ३३–३१ को जित निकालेको हो । तेस्रो जितसँगै आर्मीले नौ अङ्क बनाएको छ । आर्मीले यसअघि दावाँली मिलन क्लब र सैलुङ्ग बाघढुङ्गलाई हराएको थियो ।