काठमाडौं । बंगलादेशसँग हुने दुई वटा मैत्रीपूर्ण खेल खेल्न जाने राष्ट्रिय फुटबल टिमको बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा कार्यक्रम गर्दै एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले टोलीलाई जितका लागि शुभकामनासहित बिदाइ गरेका हुन् ।
गत वर्ष काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपपछि नेपाल र बंगलादेशबीच महिला फुटबल हुन लागेको हो ।
साफ फाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो । यस पटक त्यो हारको बदला लिने लक्ष्यमा नेपाल छ ।
बुधबारदेखि शुक्रबारसम्म तीन दिनको प्रशिक्षणपछि प्रारम्भिक चरणमा बोलाइएका टोलीबाट मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका थिए ।
नेपाली टोलीको व्यवस्थापकमा बिन्द्रा देवान छन् भने सहायक प्रशिक्षकमा पारस चौधरी तथा गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा छन् ।
नेपाली टोली
गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेण्डर : अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, निशा थोकर, अञ्चली वाइबा, समिक्षा घिमिरे
मिडफिल्डर : रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही
फरवार्ड : सावित्रा भण्डारी, सबिता राना मगर, रश्मिकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी ।