काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका अध्यक्ष लिङ्देनले सोमबार सदनमा आफ्ना कुरा राख्दै प्रधानमन्त्री दाहालको अभिव्यक्ति गम्भीर भएकाले राजीनामा दिनुपर्ने जनाएका हुन् । साथै उनले असार २० गतेको बैठकमा आफूहरूलाई बोल्न नदिएकोमा पनि गुनासो गरे ।
उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रतिपक्षमा रहेका सबै दलले त्यसको विरोध गरेका थियौँ । तर त्यो दिन हामीलाई विचार राख्न किन दिइएन ? किन नियम मिचेर सत्तापक्षतिर बोल्न दिइयो ? प्रधानमन्त्रीले नैतिकता जीवित छ भने राजीनामा दिनुपर्छ । दबाबले दिने होइन।’ उनले तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले ुबोली चिप्लिँदाु राजीनामा दिएको स्मरणसमेत गराए । साथै लिङ्देनले संसद्मा केही दल मात्र नभएको पनि बताए । अरु दल पनि निर्णायक अवस्थामा रहेकाले अरुको भारी आफूहरूले बोक्न नसक्ने उनको भनाइ छ । ‘यो संसद्मा केही दल मात्र छैनन् । तमाम दलहरू निर्णायक अवस्थामा छन् । संसद्मा ३ दल मात्र छैनन् । अहिले पहिलो र दोस्रो दल मिले मात्र सरकार बन्न सक्ने अवस्था छ। पहिलो र दोस्रो दल मिलेनन् भने धेरै दल मिल्नुपर्ने अवस्था छ,’ उनले भने ।