काठमाडौँ / मुग्लिन नारायणगढ सडक खण्डको काली खोला नजिकै शनिबार दिउँसो ४ बजेतिर सुख्खा पहिरो जाँदा अवरुद्ध भएको सडक राति १० बजेसम्म पनि सञ्चालनमा आएको छैन ।
सडक डिभिजन भरतपुरले राति ९ बजेतिर सडकको अवरोध खुलाइने जनाए पनि राति १० बजेसम्म पहिरो पन्छाउने काम भइरहेको छ । साथै थप पहिरो नखसे सडक खुलाउन अझै २ देखि ३ घण्टा लाग्ने सडक डिभिजनले जनाएको छ ।
सडक डिभिजन भरतपुरको टोली शनिबार राति पनि पहिरो पन्छाउन खटिएको छ । तर पहिरो गएको विपरीत दिशातर्फ घरहरू भएकाले पहिरो पन्छाउन कठिनाइ हुँदा बढी समय लागेको पनि सडक डिभिजनले जनाएको छ ।
पहिरोले सडक अवरुद्ध हुँदा लामो यात्रामा रहेका सयौंको संख्यामा सवारीसाधन तथा यात्रुहरू सडकमै अलपत्र परिरहेका छन् । यस सडक खण्डमा यसअघि पनि पटक पटक पहिरो जाँदा सडक अवरुद्ध हुने गरेको थियो ।