अफगानिस्तान र बंगलादेशबिच जारी तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा अफगानिस्तानले बंगलादेशमाथि रवाफिलो जित निकाल्दै एक खेल अगावै सिरिज २-० ले कब्जा गरेको छ।
शनिबार चटगाउँमा भएको दोस्रो एकदिवसीय खेलमा घरेलु टोलीमाथि अफगानिस्तानले १ सय ४२ रनको फराकिलो जित निकाल्यो। यसअघि पहिलो एकदिवसीयमा अफगानिस्तानले बंगलादेशलाई वर्षाले प्रभावित खेलमा डिएल म्याथोडमा १७ रनले पराजित गरेको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ओपनर द्वय रमनुल्लाह गुर्वज र इब्राहिम जद्रानको शतकीय इनिङमा बंगलादेश समक्ष ३ सय ३२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। गुर्वाजले १२५ बलमा १३ चौका र ८ छक्काको सहयोगमा १ सय ४५ रनको सानदार इनिङ खेले।
त्यस्तै इब्राहिमले ११९ बलमा १०० रनको इनिङ खेलेका थिए। यि दुईबिच पहिलो विकेटका लागि २ सय ५६ रनको साझेदारी गरेका थिए। सानदार ओपनिङ साझेदारीपछि अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३१ रन बनाएको थियो। बंगलादेशका लागि मुस्ताफिजुर रहमान, हसन महम्मद, सकिब अल हसन र मेहिदी हसन मिराजले समान २-२ विकेट लिएका थिए।
३ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश भने खराब ब्याटिङको सिकार भएको थियो। बंगलादेश ४३.२ ओभरमा १ सय ८९ रन जोड्दा अलआउट भएको थियो। बंगलादेशका लागि मुस्फिकर रहिमले ६९ रन बनाउनु सर्वाधिक रह्यो।
उनी बाहेक सकिब अल हसन र मेहिदी हसन मिराजले समान २५-२५ रन बनाउँदा तोहिद ह्रिदोयले १६ रन बनाएका थिए। बंगलादेशी इनिङलाई सस्तैमा अलआउट गर्ने क्रममा अफगानिस्तानका लागि फजाहक फारुकी र मुजिव उर रहमानले समान ३-३ विकेट लिंदा रासिद खानले २ तथा मोहम्मद नाबीले १ विकेट लिएका थिए।
बंगलादेश भ्रमणमा रहेको अफगानिस्तानले यसअघि एक टेस्ट खेलेको थियो। जसमा घरेलु टोलीले ५४६ रनको फराकिलो अन्तरले जित निकालेको थियो। अब यि दुई टिमबिच अन्तिम एकदिवसीय ११ जुलाईमा हुने छ। त्यसपछि दुई खेलको टी-२० सिरिज हुने छ।