काठमाडौँ – आईसीसी विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ। जिम्बाब्वेमा भएको १० राष्ट्र सहभागी विश्वकप छनोटमा नेपाल आठौँ स्थानमा रहँदै स्वदेश फर्किएको हो। प्रतियोगितामा श्रीलंका र नेदरल्यान्ड्सले एकदिवसीय विश्वकपमा स्थान बनाएका थिए।
प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबेसँग, वेस्ट इन्डिजसँग, नेदरल्याण्डसँग पराजित भएको थियो भने अमेरिकालाई हराएको थियो। प्लेअफ खेलमा नेपालले युएईलाई हराएको थियो भने आयरल्याण्डसँग पराजित हुँदै आठौँ स्थानमा प्रतियोगिता टुङ्गयाएको थियो।
शुक्रबार त्रिभुवन विमानस्थलमा उत्रिएको नेपाली टिमका कप्तान रोहित पौडेलले ठुलो आत्माविश्वाससहित जिम्बाब्वे पुगेको भएपनि सोचेजस्तो नतिजा ल्याउन नसकेको बताए। उनले भने,’हामीले सोचेजस्तो रिजल्ट ल्याउन सकेनौँ, तर हामीले बलिया राष्ट्रसँग खेल्दै अनुभाव हासिल गरेका छौँ। उनले थपे,’हामीले निरन्तर खेल्न पाएमा उनीहरूलाई बिट गर्न सक्छौँ।’ रोहितले तुलनात्मक रूपमा आयरल्यान्डसँग जित नजिक पुगेर हारेको बताए।
उनले समग्रमा प्रतियोगितामा मेहनत गरेको बताए। रोहितले अब टिमले इमर्जिङ कप र एसियाकपमा यो अनुभवबाट थप परिष्कृत भएर सुधारिएको प्रदर्शन गर्ने विश्वास ब्यक्त गरे।
प्रशिक्षक मोन्टी देशाईले अनुभव प्राप्त गर्ने क्रममा जिम्बाब्वे यात्रा महत्वपूर्ण भएको बताए। उनले नेपाली समर्थक र आफ्नो चाहना अनुसारको रिजल्ट प्राप्त गर्न नसकेपनि अनुभवको हिसावले ठूलो उपलब्धि भएको बताए।
उनले नेपाली टिमको विश्वकप सम्मको यात्रामा नेपाली समर्थक र सहयोगिहरुले पुर्या्ए्को योगदान उच्च रहेको बताए। उनले भने,’हामी कुनैपनि बिल्डीङ बनाउनुछ भने पनि एक-एक इट्टा मिलाएर बनाउँछौँ।’ उनले थपे ‘कहिलेकाहीँ काम गर्दा गर्दै वर्षाले बिथोल्छ, अनि नतिजा आफ्नो पक्षमा हुँदैन त्यस्तै यो पटक पनि मिहिनेत गर्दा गर्दै नतिजा आफ्नो पक्षमा पार्न सकिएन तर अनुभवको हिसाबले अत्यन्तै अर्थपूर्ण प्रतियोगिता खेलेर फर्किएका छौँ।’
त्यस्तै, अलराउन्डर गुल्सन झाले अनुभव हासिल गरेको बताए उनले भने ‘हामी सोचेजस्तो प्रदर्शन गर्न सकिएन, मेरो ब्यक्तिगत प्रदर्शनबाट पनि म धेरै खुसी छैन। तर हामीले बलिया राष्ट्रसँग अनुभव हासिल गरेका छौँ। आगामी दिनमा हामी यो अनुभव र कमजोरीबाट सचिएर अगाडि बढ्ने छौँ।’