काठमाडौँ – पशु सेवा विभागले पशुमा देखिने लम्पी स्कीन रोगको उपचार गर्न सबै स्थानीय तहलाई आग्रह गरिएको छ। सङ्क्रमण फैलिँदै गएकाले विभागले यथाशिघ्र औषधि उपचार तथा खोप खरिद गर्न आग्रह गरेको छ।
विभागका महानिर्देशक डा सम्झनाकुमारी काफ्लेले आज विज्ञप्ति जारी लम्पी स्कीन रोग फैलिने गएकोले स्थानीय तहलाई उपचार गर्न आग्रह गरेकी हुन्। विभागले महामारी नियन्त्रण गर्नका लागि फैलिएका स्थानीय तहमा रु एक लाख अनुदान उपलब्ध गराएको छ।
विभागले महामारी रोकथाम र नियन्त्रण गर्न प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोकेको उनले जानकारी दिइन्। विभागले लम्पी स्कीन रोग नियन्त्रण कक्ष स्थापनासहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरेको छ। उनका अनुसार २०७९ चैतदेखि फैलिएको लम्पी स्कीन सङ्क्रमणबाट २५ हजार ८७२ पशु मरेका छन्।
सङ्क्रमणमबाट देशभरि सात लाख नौ हजार दुई सय तीन पशुवस्तुमध्ये चार लाख ५३ हजार आठ सय १९ पशु निको भइसकेका जनाइएको छ। अहिले पनि दुई लाख २९ हजार छ सय दुई पशु सक्रिय सङ्क्रमित रहेका छन्। रोग २०७९ चैत महिनादेखि कोशी प्रदेशबाट रोगको प्रकोप सुरु भई हालसम्म ७६ जिल्लामा रोग पुष्टि भइसकेको छ।
उनका अनुसार पशुमा महामारीको रुपमा फैलिएको लम्पी स्कीन रोग नियन्त्रणका लागि विभाग र मातहतका निकाय, प्रदेश सरकार मातहतका निकाय तथा स्थानीय तहमा कार्यरत पशु स्वास्थ्यकर्मी परिचालन गरिएको छ। उनले अहिले क्रमशः सङ्क्रमण घट्दै गइरहेको बताइन्। सङ्क्रमणबाट प्रभावित एक लाख ८० हजार ९२२ पशुलाई खोप लगाइएको छ। सङ्क्रमण नियन्त्रणका लागि विभागसँग हालसम्म सात लाख ३७ मात्रा खोप आयात गरिएको छ।
लम्पी स्कीन गाईभैँसीमा भाइरसको कारणले लाग्ने महामारी रोग हो। यो रोग लागेमा पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोला गिर्खा तथा गाँठाहरु देखिने, र्याल सिँगान वग्ने, चिप्रा/कचेरा लाग्ने, खुट्टा/जोर्नी सुन्निनेजस्ता लक्षण देखा पर्दछन्। यस रोग बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दूधालु र गर्भिणी गाईभैँसीलाई असर गर्ने गर्दछ।
लम्पी स्कीन नेपालमा पहिलो पटक २०७७ असारमा मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकामा देखिएको थियो। रोग देखिएको दुई वर्षमा १६ जिल्लाका २९ पालिकामा रोग फैलिदा तीन हजार तीन सय एक पशु सङ्क्रमित भई १३ पशु परेका थिए। अहिले देखिएको सङ्क्रमणबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशकामध्ये पहाडी तथा पहाडी क्षेत्रमा रहेका पशु बढी प्रभावित भएका छन्।
विभागले सङ्क्रमण नियन्त्रणका लागि अहिले प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोकेको छ। रोग नियन्त्रण गर्नका लागि एक सय ६१ स्थानीय तहमा भेटेरिनरी डाक्टर र सबै स्थानीय तहमा प्राविधिकको व्यवस्थापन आगामी आर्थिक वर्षको बजेटबाट गरिएको छ। रासस