भूपरिवेष्ठित राष्ट्र नेपाललाई दुई विशाल र विश्व अर्थतन्त्रका प्रमुख खम्बा छिमेकी देशहरु भारत र चीनबाट अवसर र चुनौती उत्तिकै छ । दुवै देशको तुलनामा निकै सानो नेपाललाई आफ्नो व्यापारिक कारोबारका लागि पनि दुवै देशसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने बाध्यता छ । नेपालले विशेषगरी भौगोलिक सुगमताका कारण भारत तथा यसका बन्दरगाह हुँदै धेरै वस्तुको आयात गरिरहेको छ । अर्कोतर्फ चीनसँगको नेपालको सम्बन्ध सुमधुर रहँदै आएको छ । तर, दुवै देश एकअर्काको दुश्मन हुँदा त्यसको मार भने नेपाललाई पर्दै आएको छ । दुवै देशले नेपाललाई आफ्नो तर्फ पार्न खोज्दा अर्को पक्ष चिढिने हो कि भन्ने चिन्ता पनि छ । यही कारण लामो समयदेखि भारत र चीनको चासो नेपालमा रहँदै आएको छ । अझ भारतले त हस्तक्षेपकारी भूमिका देखाउँदै आएको इतिहास नै रहेको छ ।
चीन र भारतलाई कसरी सन्तुलनमा राख्ने भन्ने चिन्ता नेपालका अधिकांश सरकार प्रमुखलाई हुँदै आएको छ । विगतमा कुनै सरकार प्रमुख चीनतर्फ वा कुनै भारततर्फ ढल्किँदा त्यसको असर भने नेपाल र नेपालको कूटनीतिक क्षेत्रमा पर्दै आएको छ । नेपालको कूटनीति क्षेत्र स्थायी नभई सरकारमा आउने दल र तिनका नेताअनुसार परिवर्तन हुने गरेको आरोप जहिल्यै लाग्ने गरेको छ । विशेषगरी कांग्रेस पार्टीलाई भारततर्फ ढल्किने गरेको र कम्युनिस्ट पार्टीलाई चीनको पक्षमा काम गर्ने गरेको आरोप लाग्ने गरेको छ । त्यही कारण चीन पनि नेपालको शासनसत्तामा कम्युनिस्ट पार्टी रहँदा सहज मान्ने गरेको भने अर्कोतर्फ कम्युनिस्ट पार्टी सत्तामा रहँदा भारतले शंकाको दृष्टिले हेर्ने गरेको छ ।
यही समस्या अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको रुपमा भारतस“ग सम्बन्ध सुमधुर बनाउनु ‘वाध्यता’ छ । तर उनलाई माओवादी केन्द्रका अध्यक्षको हैसियतले चीनस“ग नजिक हुुनुपर्छ । उनी परम्परागत सम्बन्धले भारत र पार्टी सिद्धान्तका हिसाबले चीनस“ग निकट देखिन्छन् । यतिबेला उनलाई भौगोलिक सुगमता, धेरै व्यापारिक कारोबारका कारण भारतसँगको सम्बन्ध सुमधुर बनाउनुपर्ने बाध्यता छ । अर्कोतर्फ भारतसँग चिढ्याउने कुनै कुरा गर्दा सरकार नै ढल्ने हो कि भन्ने आशंका पनि उनलाई छ । त्यही कारण उनले हालै भारत भ्रमण गर्दा पनि नेपाल र भारतबीचका सन्धि सम्झौता पुनरावलोकनसम्बन्धी प्रतिवेदन ईपीजी भारतले बुझ्नुपर्ने अडान राख्न सकेनन् । प्रचण्ड स्वयंले यो विषय उठाएर भारतलाई चिढ्याउन नखोजेको प्रतिक्रिया दिए । यस्तै, कम्युनिस्ट पार्टीका अध्यक्ष भएकाले प्रचण्ड सैद्धान्तिक हिसाबले चीनसँग नजिक छन् । त्यसकारण पनि उनलाई दुवै देशसँगको सम्बन्ध सन्तुलनमा राख्न हम्मेहम्मे परेको छ ।
तर, दुवै देशलाई सन्तुलनमा राख्ने एउटै आधार हो, राष्ट्रिय स्वाभिमान । विगतमा राष्ट्रिय स्वाभिमानलाई आधार बनाएर भारत तथा चीनसँग वार्ता गर्ने सरकार प्रमुखलाई दुवै देशले पनि सम्मान गरेका थिए । दुवै छिमेकी देशको हितविपरीत हुने गरी नेपालको भूमि प्रयोग गर्न नदिने र आफ्नो राष्ट्रिय स्वाभिमानमा अडिग रहने हो भने प्रधानमन्त्री प्रचण्डले पनि छिमेकीलाई रिझाउने वा सन्तुलनमा राख्ने चिन्ता बोकिरहनु पर्दैन । जनधारणा साप्ताहिक