काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्रप्रसाद मल्लले अर्थतन्त्र संकुचन हुनुको प्रमुख कारण जोखिम भार १५० प्रतिशत कायम रहनु रहेको बताएका छन्।
काठमाडौंमा बिहीवार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको तर्फबाट आयोजित आगामी मौद्रिक नीति समीक्षा कार्यक्रममा उनले अर्थतन्त्र चलायमानका लागि यो बेस रेटमा लिने प्रिमियम पक्षपातपूर्ण रहेको बताए।
उनले अधिकतम २ प्रतिशतभन्दा ननाघिकन प्रिमियम लिने व्यवस्था गर्न माग गरे। उनले अहिले अर्थतन्त्र संकुचन बनेको मुख्य कारण घरजग्गा तथा सेयर कारोबार गर्दा धितोमा राखेर ऋण लिने जोखिम रहेको बताए। अध्यक्ष मल्लले जोखिम शतप्रतिशतमा झार्न सके अर्थतन्त्र तत्काल चलायमान बन्ने दाबी गरे।