काठमाडौं । उदाउँदा कलाकार सारुक ताम्राकार आफ्नै घरमा मृत फेला परेका छन् । ३१ वर्षीय ताम्राकार बिहीबार राति रातोपुलस्थित निवासमा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले कान्तिपुरलाई जानकारी दिए ।
‘राति ११ बजेतिर रातोपुलमा मान्छे झुन्डिएको भनेर खबर आयो । त्यहाँ जाँदा तीन तले घरको पहिलो तलाको भर्याङमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो,’ एसपी रिजालले भने ।
ताम्राकारको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा लगिएको एसपी रिजाले बताए । ताम्राकार बुबा र आमासँगै रहँदै आएका थिए । बिहीबार बुबा–आमा पार्टीका लागि बाहिर गएका बेला उक्त घटना भएको उनले बताए ।
सारुकले निर्देशक यम थापासँग ‘रानी’ र ‘मेरी मामु’मा सँगै काम गरेका थिए । यमको लेखन र दयाराम दाहालको निर्देशन रहेका ‘रानी’बाट अभिनयमा डेब्यु गरेका ताम्राकार पुराना कलाकार सानू ताम्राकारका छोरा हुन् । उनले ‘इन्टू मिन्टू लण्डन’मा निभाएको अभिनयको निकै प्रशंसा भएको थियो ।’परिवार स्रोतसँग बुझ्दा उनको मृत्यु भएको खबर पाएँ’, थापाले भने, ‘आफ्नो चरित्रमा डुबेर एकदम मिहेनत गर्ने कलाकारमा पर्थ्यो । उम्दा कलाकार हामीले गुमायौं ।’
पछिल्लो समय ‘ह्यासट्याग माया’को छायांकन आधा सकिनै लागेको अवस्थामा रहेको निर्देशक थापाले बताए ।