काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा माथिल्लो ग्रेड ल्याउनेको संख्या बढेको छ। एसइईमा २२ हजार ४ सय ७५ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन्।
बिहिबार २०७९ को एसइई नतिजा प्रकाशन भएको जानकारी दिँदै पत्रकार सम्मेलनमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले उक्त जानकारी दिएका हुन्। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार अघिल्लो वर्षको एसइईमा ९ हजार ६ सय ३३ जनाले ३.६ देखि ४ जिपिए ल्याएका थिए।
यस्तै,बोर्डका सदस्य सचिव अर्यालका अनुसार ०.८ देखि १.२ जिपिए २२ सय जनाले ल्याएका छन्। १.२ देखि १.६ जिपिए ३८ हजार ७ सय ७० जनाले ल्याएका छन्। १.६ देखि २ जिपिए ८८ हजार ४ सय ४७,२ देखि २.४ जिपिए एक लाख २ हजार २ सय ९३ जना विद्यार्थीले ल्याएका छन्। २.४ देखि २.८ जिपिए ८९ हजार ३ सय ३१ जना,२.८ देखि ३.२ जिपिए ६२ हजार ३ सय ६२ जनाले ल्याएका छन भने ५५ हजार ६९ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएको बोर्डका सदस्य सचिव अर्यालले जानकारी दिए।