काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्याह्न १२ बजे बस्ने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुनेछ ।
जिल्ला सभापतिहरूलाई बैठकमा आउँदा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको विवरण, नवीकरण र अभिलेखीकरणको विषय, विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापनलगायतका विषयसहित उपस्थित हुन पत्राचार गरिएको छ ।
यसैगरी वडादेखि जिल्लासम्म विधान बमोजिम हुनुपर्ने सम्मेलनहरू कुन कुन तहो सम्मेलन सम्पन्न भए, कुन कुन हुन बाँकी छ सोको विवरण र योजना समेत ल्याउन भनिएको छ ।
जिल्ला सभापति उपस्थित हुन नसके उपसभापति उपस्थित हुने, भौतिक रूपमा सहभागिता जनाउन नसके अनलाइनमार्फत अन्तरक्रियामा सहभागी हुनसक्ने व्यवस्था पनि गरिएको छ ।
बैठक भोलिसम्म चल्ने जनाइएको छ ।