काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गर्ने बताएका छन्।
मुलुकको भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै राजसंस्थाको औचित्य र आवश्यकता रहेको हुँदाहुँदै पनि पार्टीले तत्काल कार्यनीतिमा नराखेको अवस्थामा केन्द्रीय समिति बैठकमा व्यक्त धारणा र देशभरिका कार्यकर्ताको भावनाको सम्मान गर्दै राजसंस्थाको विषयमा लिइराखेको नीतिमा पुनर्विचार गरिने थापाले स्पष्ट पारे।
बुधबार पार्टी आबद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले कांग्रेस–कम्युनिस्टप्रति जनताको चरम वितृष्णा रहेको र नयाँ शक्तिको रुपमा आएका पार्टीहरु सत्ता केन्द्रीत भएको अवस्थामा २०८४ को निर्वाचनमा नयाँ शक्ति जनताको रोजाई हुनेसमेत भविष्यवाणी गरे।
थापाले त्यो नयाँ शक्ति राप्रपा नेपाललाई बनाउनुपर्ने भन्दै सवै जनवर्गीय संगठनहरुलाई संगठन विस्तारमा केन्द्रीत हुन निर्देशन दिए। भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र कुशासनको विरुद्धमा जनतालाई जगाउनुपर्ने भन्दै थापाले जनताको पक्षमा दृढतापूर्वक उभिनसमेत आग्रह गरे। राप्रपा नेपाल असल विचार, निष्ठावान कार्यकर्ता र इमानदार नेतृत्वको बलमा उठ्ने र आगामी दिनमा एउटा शक्तिशाली वैकल्पिक शक्ति बनाएरै छाड्ने थापाले दाबी गरे। कार्यक्रममा जनवर्गीय संगठनका प्रमुखहरुले कार्ययोजनासहित भावी रणनीति प्रस्तुत गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।