काठमाडौं । शसस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले आफ्नो महिला खेलाडी अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दिने भएको छ । यसअघि शसस्त्रले आफ्ना ११ महिला खेलाडीलाई एन्फाको प्रशिक्षणमा नपठाउने निर्णय गरेको थियो ।
एसियाली खेलकुदको तयारीमा रहेका खेलाडीहरुलाई एपिएफले आइतबारबाट प्रशिक्षणमा जान रोक लगाएको थियो । ६ असोजबाट सुरु हुने १९औं एसियन गेम्सको तयारी स्वरुप नेपालले आगामी जुलाई १३ र जुलाई १६ मा बंगलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण फुटबल खेल्दैछ ।
महिला टोलीको प्रशिक्षण अपराह्न सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुँदैछ । मुख्य प्रशिक्षक अनन्तराज थापाले गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली छनोट गरेका छन् । ‘आजबाट प्रशिक्षण सुरु गर्दैछौं । सबै खेलाडीको सहभागीता रहनेछ ।’ प्रशिक्षक थापाले भने ।
जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन पुरुष लिगमा एपिएफ क्लब रेलिगेसनमा परेको थियो । रेलिगेसनबाट बचेको थ्री स्टार क्लबले आफ्नो अन्तिम खेलमा जावलाखेलसँग खेल मिलेमतो गरेको तथा गैरकानुनी रुपमा दुई विदेशी खेलाडीलाई मैदान प्रवेश गराएको भन्दै एपिएफले एन्फामा निवेदन उजुरी हालेको हो ।
विदेशी खेलाडी अजयी मार्टिन्स र पिटर सेगुनलाई भिषा सकिएपछि थ्री स्टारले मैदान उतारेको एपिएफको दाबी छ । एन्फाले सो निवेदनको कुनै पनि जवाफ नदिएपछि एपिएफले आफ्ना खेलाडीहरुलाई राष्ट्रिय टोलीमा नपठाउने निर्णय गरेको हो । जसका कारण पछिल्लो तीन दिन महिला टोलीको प्रशिक्षण नै हुन सकेन । यता, एपिएफको पुरुष खेलाडीलाई ड्युटीमा पठाइएको छ ।
एपिएफको सो निर्णयसँगै खेलाडीहरु मर्कामा परेका थिए । तर, तीन दिनपछि खेलाडीहरु राष्ट्रिय टोलीबाट खेल्ने निश्चित भएको हो । महिला टोलीमा एन्जिलासँगै सावित्रा भण्डारी, गीता राना, हिराकुमारी भुजेल, सरु लिम्बू, अनिता केसी, निशा थोकर, रेनुका नगरकोटे, अनिता बस्नेत, प्रिति राई र सविता रानामगर छन् । प्रिति र सविता करारमा छन् ।
अनन्तले बोलाएको टोलीमा एपिएफका ११ खेलाडीसँगै आर्मीबाट दीपा शाही, अमिषा कार्की, विमला वि।क, अन्जना रानामगर, विमला चौधरी, रश्मिकुमारी घिसिङ र अन्जिला वाइवागरी सात खेलाडी छन् । नेपाल पुलिसबाट रेखा पौडेल, अमृता जैशी, पुजा राना, समिक्षा घिमिरे र उषा नाथगरी पाँच खेलाडी छन् ।