खलंगा / शैल्यशिखर नगरपालिका–६ पनेबाज बजार छेउमा जस्तापाताले बार लगाएको एउटा सानो छाप्रो छ। त्यही छाप्रोमा बिहानदेखि साँझसम्म दैनिक जसो भेटिन्छन् ७० वर्षीय पदमे लुहार। उनी एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहन्छन्।
लुहार फलाम सिल्भर र तामाका विभिन्न भाँडाकुँडा बनाउँछन्। बुबा बाजेबाट भाँडाकुँडा बनाउन सिकेका उनले आरन व्यवसाय सञ्चालन गरेको ५२ वर्ष भयो। “यसै पेसाबाट जसोतासो घरखर्च चल्दै आएको छ”, लुहारले भने।
आरन पेसा अपनाउँदै आएका लुहार बिगतमा निकै दुःख खेप्नुपरेको बताउँछन्। केही वर्ष अघिसम्म फलामको काम गर्दा अन्न मात्र दिने गरेकामा पछिल्लो समय त्यसवापत उनले नगद पाउँछन्। यही पैसोले लुहारले छोराछोरीको लत्ताकपडा किन्ने गरेका छन्। “छोराहरुले यो पेसालाई अपनाउन चाहँदैनन्, अब पेशा सङ्कटमा पर्ने चिन्ता छ”, उनी भन्छन्।
आरन व्यवसाय सङ्कटमा परेको छ। “बजार अभाव छ, त्यसैले आरन व्यवशाय गाउँघरबाटै हराउँदै गएको छ”, स्थानीय दीपेन्द्र धामीले भने। परम्परागत घरेलु हस्तकलाका सामग्रीको प्रयोग कम हुनुका साथै मेहनत गरेअनुसारको मूल्य नपाउँदा पनि यो पेसा विस्तारै लोप हुँदै गएको छ।
आरन व्यवसायी गङ्गराम लोहार यही पेसालाई आधुनिक ढङ्गले व्यावसायिक रुपमा अघि बढाउन सके स्थानीय स्रोतसाधनको प्रयोगबाटै गाउँघरमा रोजगारी सिर्जना गर्न सकिने बताउँछन्। “अहिलेका युवाको यो पेसाप्रति चासो छैन”, उनले भने।
पहिला–पहिला गाउँघरमा आरन व्यवसाय गर्नेको सङ्ख्या उल्लेख्य थियो। भाँडाकँुडा बनाउन कोइलाको प्रयोग गरिन्छ। अहिले दाउराको पनि अभाव हुन थालेको छ। स्थानीय गजेन्द्र लुहार भन्छन्– “मैले सानै उमेरदेखि बुबा र बाजेले काम गरेको देखेर सिकेको हुँ, अहिलेका पुस्ताले सिक्न चाहँदैनन्, सिकेर खेर जाँदैन, यसबाट पनि पैसो कमाउन सकिन्छ”, उनले भने। आठ जनाको परिवारको खर्च आरन पेसाबाटै चलाएको लुहारले बताए। सरकारले आरन पेसा लोप हुन नदिन विभिन्न कार्यक्रम ल्याउनुपर्ने उनको माग छ। -रासस