काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अधिकारको पक्ष भन्दैमा कोही पनि व्यक्तिलाई जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सरकारलाई सह्य नहुने बताएकी छन्।
शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पहिचानको नामाकरणको विषयलाई लिएर कोशी प्रदेशमा भइरहेको गतिविधि अराजक रहेको बताइन्।
नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईलाई बिहीबार गृह जिल्ला प्रवेश गर्ने क्रममा आक्रमणको प्रयास भएको थियो। सोही विषयमा मन्त्री शर्माले सरकारले अराजक गतिविधि गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने बताइन्।
उनले कोशी प्रदेशको नामका बारेमा भइरहेको आन्दोलनलाई प्रदेश सांसद र मुख्यमन्त्रीसँग छलफल गरेर निकास निकाल्नुपर्ने बताइन्। उनले केन्द्र सरकारले पनि यसमा सहयोग गर्ने बताउँदै नयाँ बन्ने प्रदेश सरकारले यसको निकास दिने बताइन्।
उनले भनिन्,’…यसमा मेरो के भन्नु छ भने सरकारको तर्फबाट भन्दा कसैले पनि लोकतन्त्रमा आफ्ना कुरा राख्न पाउँछ, आफ्ना अधिकारको पक्ष पोषण गर्न पाउँछ, आफ्नो ठाउँमा छ तर त्यसका नाममा कसैले कसैलाई जिल्ला प्रवेश निषेध गर्ने भन्नेकुरा राम्रो कुरा होइन। त्यो गर्नु हुँदैन। अराजकतामा जानु हुँदैन, प्रदेशका मुख्यमन्त्री, सांसदहरुसँग छलफल गर्नुपर्छ। यसको निकास खोज्ने कुरामा हामी गम्भीर छौँ।’