केही दिनअघि चार दल मिलेर समाजवादी मोर्चा स्थापना भयो । समाजवादलाई लक्ष्य बनाएका दलबीच कार्यगत एकताको अर्थ साँच्चै नै समाजवाद स्थापना हो कि अरु नै छ भन्ने आशंका सुरुवातदेखि नै थियो । तर, मोर्चा घोषणा समाजवाद स्थापनाभन्दा पनि वर्तमान शक्ति सन्तुलनका लागि भएको यही मोर्चाका नेताले स्पष्ट पारेका छन् । मोर्चामा सहभागी दलमध्येको एक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मोर्चा गठनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खुसी भएको दाबी गरेका हुन् । यसको अर्थ हालको ठूलो दल कांग्रेसले यो मोर्चालाई कुन रुपमा लेला भन्ने मोर्चामा आबद्ध दलहरुलाई मुख्य चासोको विषय थियो । त्यसअनुसार आफूहरु सफल भएको नेता नेपालले दाबी गरेका हुन् ।
मोर्चामा हाल सत्तारुढ नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छ । सत्तारुढ यी दल संसदमा थोरै सिट भएका दलहरु हुन् । माओवादीबाट प्रधानमन्त्री बनेका प्रचण्डलाई आफ्नो सरकार सधैं अस्थिर हुने हो कि वा समर्थन दिएको ठूलो दल कांग्रेसले कुनै पनि बेला दबाब वा समर्थन फिर्ता लिने हो कि भन्ने चिन्ता छ । त्यसैले पनि उनलाई बलियो राजनीतिक संगठन अहिलेको आवश्यकता हो । त्यसअनुसार प्रचण्ड र नेपालकै अगुवाइमा अहिले समाजवादी मोर्चा गठन भएको भन्नेमा स्पष्ट नै छ । अर्कोतर्फ कांग्रेसलाई सरकार गठन गर्न एमालेबाट सहयोग पाए मात्र सम्भव छ, नत्र साना दलहरुलाई रिझाउनुपर्ने छ । यही अवस्था एमालेको पनि छ । तेस्रो ठूलो दलबाट प्रधानमन्त्री बनेका प्रचण्डलाई साना दल एकत्रित गर्न सके आफ्नो शासन अवधि अपनाउन सकिने विश्वास छ । अर्कोतर्फ सत्तामा आवश्यक बार्गेनिङका लागि पनि उनलाई सहज हुनेछ ।
पछिल्लो समय कांग्रेस र एमालेका दोस्रो तहका नेताहरु सत्ता साझेदारीका लागि छलफलमा छन् । यी दुई दलबीच सहकार्य भएमा सत्ता जाने सम्भावनाका कारण पनि प्रचण्ड साना दलको मोर्चा बनाउनुपर्ने अवस्थामा आइपुगेका छन् । यो मोर्चाका कारण कांग्रेससँगको शक्ति सन्तुलन गराउने उनको विश्वास छ । अहिले संगठित भएका दलहरु जसपाबाहेक कम्युनिस्ट पार्टी हुन् । यी दलको मुख्य सिद्धान्त समाजका सर्वहारावर्गलाई प्राथमिकतामा राखेर काम गर्नु हो । समाजवाद स्थापनाको बाटोमा अघि बढ्नु हो । तर, यो मोर्चाले आफ्नो मुख्य सिद्धान्तलाई नै बेवास्ता गरेर सत्ता बार्गेनिङका लागि आगामी दिनमा काम गर्ने सम्भावना देखिएको छ । जुन पार्टी तथा नेताका लागि सही होला, तर देश र जनताको लागि भने घातक साबित हुनेछ । यसले समृद्ध र समाजवादयुक्त देशको परिकल्पना अझै कल्पनामा नै सीमित हुनेछ । जनधारणा साप्ताहिकबाट