वीरगञ्ज / नयाँ नागरिकता ऐनअनुसार पर्सा र बारामा जन्मसिद्ध नागरिकका सन्तानले आइतबारबाट नागरिकता पाएका छन्। आइतबार र सोमबार गरी पर्सामा ३२५ जना र बारामा ३३ जना जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाएका हुन्।
नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्न सुरु गरिएको दुई दिनको अवधिमा आइतबार १२१ र सोमबार २०४ जना गरी कुल ३२५ जना जन्मसिद्धका सन्तानले वंशजको नागरिकता लिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए।
आइतबारदेखि नै टोकन प्रणालीबाट पर्सामा नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्ने कार्य सुरु गरिएको उनले बताए।
उता बारा जिल्लामा भने ३३ जना जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाएका छन्। सोमबार जिल्लाका ३३ जना जन्मसिद्धका सन्तानले वंशजको आधारमा नागरिकता पाएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए।
आइतबारबाटै जन्मसिद्धका सन्तानलाई नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्ने सुरु गर्न तयारी गरिएको भए पनि सर्भर डाउन भएका कारण सोमबारबाट मात्रै जन्मसिद्धका सन्तानलाई नागरिकता वितरण गर्न सुरु गरिएको उनले बताए।
पर्सा र बारामा टोकन प्रणालीअनुसार जन्मसिद्धका सन्तानलाई नागरिकता वितरण गर्ने व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाएको छ।
गत बिहीबार सर्बोच्च अदालतले नागरिकता विधेयकसमबन्धी मुद्दामा अल्पकालीन अन्तरिम आदेश कार्यान्वयन नहुने आदेश दिएसँगै देशमा रहेका जन्मसिद्धका सन्तानले वंशजको आधारमा नागरिकता पाउने बाटो खुलेको थियो।