काठमाडाैं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जर भएर एकीकृत कारोबार गर्नुपूर्व नै विभिन्न बिमा योजना सार्वजनिक गरेका छन् ।
असारभित्रै मर्जर भई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नाममा एकीकृत कारोबार गर्ने दाबीसहित दुवै कम्पनीले संयुक्त रूपमा नयाँ बिमा योजनाहरू घोषणा गरेका हुन् ।
दुवै कम्पनीका विज्ञ कर्मचारीहरूको अध्ययन विश्लेषणपछि साउन १ गतेबाट बिक्री–वितरणका लागि १५ वटा बिमा योजनाहरू (प्रोडक्ट) छनोट भएको दुवै कम्पनीले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेको विज्ञप्तिअनुसार स्वीकृत बिमा योजनाहरूमा सुपर सुरक्षित बिमा, समृद्ध जीवन बिमा, चामत्कारिक हेरचाह बिमा, लोकप्रिय धन फिर्ता बिमा, स्मार्ट प्लस बिमा, बम्पर श्रीवृद्धि बिमा रहेका छन् ।
त्यस्तै, गज्जबको लगानी फिर्ता बिमा, डबल धमाका बिमा, सबैको जीवन बिमा, सर्वश्रेष्ठ आजीवन बिमा, सुनौलो किरण बिमा, वैभव जीवन बिमा, जीवन उन्नति बिमा, लगानी फिर्ता बिमा र निर्धक्क जीवन बिमा योजनाहरू जारी गरिने उल्लेख छ ।