रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ कोटजहारीका १८ वर्षीय सुशील कवँर योगीले घर छोडेको २७ दिन भयो । चार महिनामा नेपालका ७७ जिल्ला पुगी छाड्ने अठोट बोकेका योगी अहिले रसुवा पुग्नुभएको छ । भ्रमण सुरु गरेदेखिको यो २६ औँ जिल्ला हो ।
हातमा मोबाइल, पिठ्युँमा झोला, झोलामा नेपालको झन्डा बोकेर निस्कनुभएका योगीले बिनापैसा यो भ्रमण गरिरहनुभएको छ । बिनापैसा देशका सबै जिल्ला भ्रमण गर्ने सोच बोक्नुभएका योगीको उद्देश्य भनेको नेपाल बुझ्ने र नेपालका पर्यटकीय स्थलहरू विश्वसामु चिनाउने हो ।
योगीले भन्नुभयो, ‘नेपाल घुम्ने मेरो सानैदेखिको रहर हो, अहिले बिनापैसा घरबाट निस्केको हुँ, बाटोमा प्रायः सबैले सहयोग गर्नुभएको छ ।’ उहाँले धेरैजसोले गाँसबासका लागि सहयोग गरिरहेको बताउनुभयो । सक्नेले धेरथोर नगद पनि सहयोग गरेको उहाँको भनाइ छ ।
नेपालको भूगोल, समाज र मान्छे चिन्ने अनि घुमिसकेपछि नेपालको प्रचार गर्नलाई पुस्तक लेख्ने योगीको सोच छ । हरेक दिनको यात्राकोबारेमा दैनिकी टिपोट गर्ने गरेको उहाँले सुनाउनुभयो । अहिलेसम्मको यात्राले नेपाली भूगोल, समाज र मान्छेकोबारेमा जान्न पाएको उहाँको बुझाइ छ । भ्रमणका क्रममा जिल्ला सदरमुकाम र केही प्रख्यात ठाउँ पुग्ने गरेको योगीले बताउनुभयो ।
कक्षा १२ को परीक्षा दिइसकेपछि देश भ्रमणमा निस्केका उहाँले नतिजा आउने अवधिको सदुपयोगका लागि देशको भ्रमणमा हिँड्नुभएको हो । विज्ञान सङ्काय लिएर कक्षा १२ को परीक्षा दिनुभएका उहाँको चाहना विज्ञान विषयमै स्नातक गर्ने छ, त्यसपछि नेपालमै केही योजना सञ्चालन गर्ने र अरूलाई रोजगारी दिने सोच छ । यहाँसम्म आइपुग्दा घुम्नका पैसा नभई इच्छाशक्ति चाहिने उहाँ सुनाउनुहुन्छ । परीक्षा सकिएको मौका र घुम्ने सबैभन्दा उपयुक्त उमेर यही हो सोचेर घरबाट निस्किएको योगीले बताउनुभयो ।
सुरुमा रुकुम पश्चिमबाट चितवन झरेका योगीले अहिलेसम्म २४ वटा जिल्ला पुगेको बताउनुभयो । कहिलेकाहीँ ट्रक, गाडी, मोटरसाइकल चालकलाई लिफ्ट माग्दै आएको बताउने उहाँले कुनै दिन १३ घण्टासम्म पैदल हिँडेको बताउनुभयो । अहिलेसम्म उहाँले चितवन, इलाम, झापा, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, सप्तरी, सिरहा, उदयपुर हुँदै खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, ललितपुर, काठमाण्डौ, नुवाकोट र रसुवा भ्रमण पूरा गरेको बताउनुभयो ।
योगीका बुवा नरेन्द्र मजदुरीका लागि भारतमा हुनुहुन्छ । आमा भद्रशीला घरमै कृषिकर्ममा गर्नुहन्छ । नेपाल घुम्ने कुरा बुबाआमाले सहमति नजनाए पनि विश्वास दिलाएर घरबाट निस्किएको उहाँले उल्लेख गर्नुभयो ।