काठमाडाैँ / कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले दुग्ध क्षेत्रको हितका लागि मन्त्रालय सदैव सकारात्मक रहेको बताएका छन्। नेपाल डेरी एसोसिएसनले प्रकाशन गरेको चौथो अङ्क ‘डेरी दर्पण’ को आज विमोचन गर्दै नेपाललाई दुग्ध क्षेत्रमा पूर्ण रुपमा आत्मनिर्भर बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको बताए। उनले भने, “दुग्ध क्षेत्रको हितका लागि मन्त्रालय सदैव सकारात्मक रहेको छ र आगामी दिनमा पनि साथ रहने कुरा प्रतिबद्धता व्यक्त गर्न चाहान्छु।” मन्त्री भुसालले कृषि क्षेत्र र कृषकले भोग्दै आएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको भन्दै नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लैजाने बताए। कृषकले भोग्दै आएको बीउ, मल र बजार भाउको जतिसक्दो चाँडो समाधान गर्ने उहाँको भनाइ थियो। सङ्घले मोही, दूध तथा दुग्ध पदार्थसहित दहीचिउरा खुवाउने कार्यक्रमसमेत गरेको थियो। नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत वस्तुगत सङ्घका उपाध्यक्ष एवं कार्यकारिणी सदस्यहरुलाई क्रमशः सम्मान गर्ने क्रममा उपाध्यक्ष हेमराज ढकाल, कार्यकारिणी सदस्यहरुमा अरनिको राजभण्डारी, भक्त हमाल, हरिबहादुर कार्की, कमला श्रेष्ठ र लिलेन्द्रप्रसाद प्रधानलगायतलाई सम्मान गरिएको थियो। डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले दुग्ध क्षेत्र एक संवेदनशील क्षेत्र रहेको र यो क्षेत्रको एक मात्र सरोकारवाला निकाय राष्ट्रिय दुग्ध विकास बोर्डको खारेजी प्रक्रिया अविलम्ब रोक्नुपर्नेमा जोड दिए। भेटेरिनरी एसोसिएसनका अध्यक्ष रामकृष्ण खतिवडाले डेरी व्यवसायमा नेपाल डेरी एसोसिएसनको भूमिका ठूलो रहेको र चौथो अङ्क डेरी दर्पण विमोचनको शुभकामना दिए।