काठमाडौं- नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले किर्गिस्तानमा आफ्नो लगातार खराब प्रदर्शनलाई सुधार्न असफल हूँदै प्रतियोगितामा जितविहीन रहँदै घर फर्किने पक्का भएको छ। किर्गिस्तानमा जारी काभा पुरुष नेसन्स लिग भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँगको अन्तिम खेलमा पराजित भएसँगै लगातर छैटौं खेलमा पराजित भएर प्रतियोगिताको औपचारिक अन्त गर्यो।
आइतबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग तीन सेटमानै कडा टक्कर दिएपनि सोझो सेटमा पराजित भयो। प्रतियोगितामा नेपालले कुनैपनि खेलमा जित निकाल्न सकेन। बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपाल उज्वेकिस्तानसँग २५-२१, २५-२२ र २५-२३ को सोझो सेटमा पराजित हुँदै नेपाल घर फर्कीन लागेको हो।
नेपाल यसअघि पहिलो खेलमा मंगोलिया, दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग पराजित भएको थियो। त्यस्तै तेस्रो खेलमा इरानसँग पराजित हुँदा चौथो खेलमा तुर्किमिनिस्तान र पाँचौ खेलमा आयोजक किर्गिस्तानको ‘बी’ टोलीसँग पराजित भएको थियो।
काभा पुरुष भलिबलमा नेपालसहित आयोजकको दुई टोली, इरान, मंगोलिया, तुर्किमिनिस्तान उज्वेकिस्तान गरी सात टोलीको सहभागिता रहेको छ। सिंगल राउन्ड रोबिनमा हुने प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।