काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहविरुद्धको अवहेलना मुद्दा सर्वोच्च अदालतमा न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ।
‘आदिपुरुष’ फिल्म चलाउन पाटन उच्च अदालतले आदेश दिएपछि असार ७ गते शाहले आदेश नमान्ने भन्दै चर्को अभिव्यक्ति दिएका थिए।
त्यसका विरुद्ध अधिवक्ता वर्षाकुमारी झाले शुक्रबार दायर गरेको अवहेलना मुद्दाको पहिलो पेशी न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासमा तोकिएको हो।
पेशी सूचीको अन्तिममा परेकाले आइतबार सुनुवाइको सम्भावना कम रहेको सर्वोच्च प्रशासनले जनाएको छ।
शाहले अदालतको आदेश नमान्ने घोषणा गर्दै सरकार र अदालत दुवै भारतको गुलाम बनेको आरोप लगाएका थिए।
सामाजिक सञ्जालमार्फत बालेनले भनेका थिए, ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ।’