काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र नेपाली राष्ट्रिय फुटबल टिम आ-आफ्नो खेलका लागि आज (शनिबार) मैदान उत्रिँदा दुवै टिम जित्नैपर्ने दबाबमा हुनेछन् । नेपाली क्रिकेट टिममाथि आज आईसीसी क्रिकेट विश्वकप छनोटमा सुपर सिक्सको सम्भावना कायम राख्न नेदरल्यान्ड्सविरुद्ध जित्नैपर्ने दबाब छ ।
यता, दक्षिण एसियाकै सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेको नेपाली फुटबल टिमलाई पनि सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । आजको खेलमा हारको नतिजाले दुवै टिमको आगामी चरणको यात्रा समाप्त हुनेछ । विश्वकप छनोटको समूह ‘ए’ मा रहेको नेपाली क्रिकेट टिमले यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको थियो । नेपाली क्रिकेट टिमले पहिलो र तेस्रो खेलमा क्रमशः जिम्बाब्वे र वेस्ट इन्डिजविरुद्ध हार बेहोर्दा दोस्रो खेलमा भने अमेरिकालाई हराएको थियो । आजको खेलमा जित निकाले चार खेलबाट चार अंकसहित नेपाली टिम समूहको तेस्रो स्थानमा उक्लिने छ । र, नेदरल्यान्ड्सले अन्तिम खेलमा वेस्ट इन्डिजविरुद्ध अप्रत्यासित जितको नतिजा नल्याए नेपाल सुपर सिक्समा प्रवेश गर्नेछ ।
नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार मध्यान्ह १२ः४५ बजेदेखि सुरु हुनेछ । जिम्बाब्वेमा जारी छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् । यता, भारतको बेंगलुरुमा जारी साफ च्याम्पियनसिपमा पनि नेपाल समूह ‘ए’ मा छ । समूहमा आफ्नो दोस्रो खेल खेल्न लागेको नेपाल यसअघि पहिलो खेलमा आमन्त्रीत टिम कुवेतसँग ३-१ ले पराजित भएको थियो । नेपाली फुटबल टिमले आजको खेलमा घरेलु तथा साविक विजेताविरुद्ध जित निकालेमात्र सेमिफाइनल प्रवेश गर्ने सम्भावनालाई कायम राख्नेछ । आजको खेलमा हारको नतिजाले भने साविक उपविजेतासमेत रहेको नेपाली टिम समूह चरणबाटै बाहिरिनेछ । बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।
च्याम्पियनसिपमा योपटक दुई आमन्त्रितसहित आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा सात टिम रहे पनि योपटक फिफाको प्रतिबन्धका कारण श्रीलंका प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित छ । सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।